डडेलो नियन्त्रणका लागि सचेतना र्याली

हरेक वर्ष वनमा लाग्ने डडेलो नियन्त्रणका लागि बारामा वन डडेलो नियन्त्रण सचेतना र्यालीको आयोजना गरिएको छ ।
वनमा लाग्ने डडेलो नियन्त्रणका लागि बार्षिक कार्यतालिका बमोजिम डिभिजन वन कार्यालय बाराले सचेतना र्यालीको आयोजना गरेको हो । सुख्खायाम शुरु भएसँगै वनमा डडेलो लाग्नेगरेको र त्यसले वर्षेनी वन र वनमा आश्रित वन्यजन्तुसँगै मावन जीवनका लागि अपरिहार्य पारिस्थितिकिय प्रणालीलाई नै प्रभावित बनाउनेगरेको छ । वनमा डडेलो लाग्न नदिन र डडेलो लागिपछि त्यसको नियन्त्रण गर्न पूर्वतयारीका लागि डिभिजन वन कार्यालयले डडेलो नियन्त्रण सम्बन्धी साताव्यापी कार्यक्रम गरिरहेको छ । डडेलो नियन्त्रणका लागि जिल्लास्थित विभिन्न सवडिभिजनमा डडेलो नियन्त्रण सञ्जाल गठन गरेको डिभिजन वन कार्यालयले विभिन्न सामुदायिक र साझेदारी वनका उपभोक्तासँगै वनकर्मीहरुको सहभागितामा आज सचेतना र्याली निकालेको हो । डडेलो नियन्त्रणप्रति समुदायलाई सजग गराउन विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर र्यालीका सहभागीहरुले प्रदर्शन गरेका छन । डिभिजन वन कार्यालय बारा परिसरबाट निस्केको र्यालीले डडेलो नियन्त्रण सम्बन्धी विभिन्न नारा लगाउँदै सिमरा नगरेको परिक्रमा गरेको हो । डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव कुमार झाको नेतृत्वमा विभिन्न साझेदारी वन उपभोक्ता समुह, सामुदायिक वन उपभोक्ता समुह, डिभिजन र सव डिभिजनका कर्मचारी, वन रक्षक र सुरक्षाकर्मीसँगै स्थानिय सञ्चारकर्मी र सरोकारवालाहरुको सहभागितामा निकालिएको र्याली नगर परिक्रमापछि पूनः डिभिजन वन कार्यालयमा फर्केर कोडसभा गरेको थियो ।
डडेलो नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लामा जिल्लास्तरिय सञ्जाल गठन गरी त्यसलाई सक्रिय बनाउने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

Leave a Comment