सिमराबासीलाई स्वच्छ र स्वस्थ्य खानेपानी सहज रुपमा उपलब्ध गराउँदै आएको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जितपुरसिमरा उपमहानगरको वडा नम्बर २ मा खानेपानीको थप ओभरहेड ट्याँकी निर्माणका लागि आज सर्वदलिय सर्वपक्षिय बैठक सम्पन्न गरेको छ । सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कासिम हुसेनको अध्यक्षतामा वडा नम्बर २ मा खानेपानीको ओभरहेड ट्याँकी निर्माण गर्न सर्वदलिय सर्वपक्षिय बैठक बसेको हो । जीतपुरसिमराको वडा नम्बर २ का उपभोक्ताका लागि सर्वसुलभ रुपमा खानेपानी आपुर्ति गर्न आवश्यक ओभरहेड ट्याँकी सहितका पूर्वाधार निर्माणका लागि निशुल्क जग्गाको खोजी बारे बैठकमा बृहद छलफल भएको हो । बृहद छलफलपछि उक्त बैठकले ओभरहेड ट्याँकी निर्माणका लागि पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ति क्षेत्रमा रहेको उपयुक्त खाली जग्गा निशुल्क उपलब्ध गराउन जनहित वन उपभोक्ता समिति र राधाकृष्ण मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक पहलका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
यसअघि जीतपुरसिमराको वडा नम्बर १ मा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरभित्र रहेको मुख्य ओभरहेड ट्याँकीसँगै वडा नम्बर १ मै रहेको सुकुम्बासी बस्ति नजिकको अर्को ओभरहेड ट्याँकी, वडा नम्बर ३ रामबनमा रहेको ओभरहेड ट्याँकी र वडा नम्बर ४ औराहामा रहेको ओभरहेड ट्याँकी गरी ४ वटा ट्याँकी मार्फत जीतपुरसिमराको ४ वटा वडाको उपभोक्तालाई स्वच्छ र स्वस्थ्य खानेपानी सहज रुपमा उपलब्ध गराउँदै आएको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले थप अर्को एउटा ओभरहेड ट्याँकी निर्माणका लागि वडा नम्बर २ लाई रोजेको हो ।
