राजस्व छलेर भित्र्याइएकाे आशंकामा प्रहरिले बिरगन्जबाट करिब ४ कराेड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८ सय बाेरा सुपारी बरामद गरेकाे छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ बाइपास सडकस्थित निशान्त राेनावतकाे उद्योगकाे गाेदाम र गाेदाम अगाडि रहेकाे दुई वटा कन्टेनर गाडीबाट बिहीबार प्रहरीले उक्त परिमाणको सुपारी बरामद गरेको हाे। तेस्रो मुलुकबाट वीरगन्ज भन्सार नाकाहुँदै भित्र्याइएकाे उक्त सुपारी महाेत्तरीकाे बर्दिवास पठाउनु पर्नेमा कन्टेनरबाट अनलाेड गरेर वीरगन्जको गाेदाममा भण्डारण गर्ने क्रममा प्रहरीले छापा मारेर बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिनुभएको छ । प्रहरी उपरीक्षक पाठककै नेतृत्वमा खटिएको टोलीले गाेदाम अगाडि राेकेर राखेकाे ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरको कन्टेनर गाडीबाट ९ सय बाेरा तथा गाेदामभित्र भण्डारण गरिएको ९ सय बाेरा गरि कूल १८ सय बाेरा सुपारी बरामद गरेकाे हाे।
ती दुवै कन्टेनर गाडीका चालकद्वय बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-२० का ४१ वर्षीय रामभराेस महरा र जीतपुरसिमरा उपमहानगरकै वडा नम्बर १९ का ५१ वर्षीय रामप्रसाद यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको र बरामद सुपारीसहितका दुई वटा कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिनुभएको छ ।
उक्त सुपारी निशान्त रनावत नाम गरेका व्यपारीको रहेकाे र त्यसको सम्पूर्ण कागजात वैध रहेकाे दाबी गरेपनि वीरगन्ज नाकाबाट राजस्व तिरेर भित्र्याएर अवैध रुपमा भारत निर्यात गर्ने तयारी गरिरहेकाे सूचनाकाे अधारमा प्रहरीले छापा मारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

