बिरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पस प्रशासन र शिक्षकबिच चुलिएको उत्पन्न विवाद सुल्झिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको पहलमा उक्त बिवाद सुल्झिएको हो । लामो समयदेखी तलब नपाएका हरिखेतान बहुमुखि क्याम्पसका शिक्षक र क्याम्पस प्रशासनबिच आन्तरिक विवाद थियो । क्याम्पसले तलब उपलब्ध नगरएको बिरोधमा शिक्षकहरुले हिजो आइतबारदेखी हुने प्लस टु को आन्तरिक बहिष्कार गरेपछि उक्त बिवाद झनै चुलिएको थियो ।
आइतबार बिहान ८ बजेदेखि ‘प्लस टु’ का विद्यार्थीहरू आन्तरिक परीक्षा दिन क्याम्पस पुगेका थिए । तर परीक्षा हलमा प्रवेश गरिसकेपछि क्याम्पस प्रशासनले अचानक सूचना जारी गर्दै परीक्षा तथा पठनपाठन स्थगित गरेको जानकारी गरायो ।त्यसपछि आक्रोशित विद्यार्थीहरूले नाराबाजी र प्रदर्शन सुरु गरे । प्रदर्शनका क्रममा प्रहरी क्याम्पस परिसरमा प्रवेश गरेपछि अवस्था झन् तनावग्रस्त बनेको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् भने क्याम्पसका सवारी साधनमा समेत तोडफोड भएको क्याम्पस प्रशासनले दाबी गरेको छ ।
सहमति नहुने र आन्दोलन चर्किने संकेत पाएपछि सिडिओ दाहालले छलफलका क्रममा कडा शब्द प्रयोग गर्दै व्यवस्थापनको आलोचना गरेका थिए । विद्यार्थीहरुसामु नै क्याम्पस सञ्चालकलाई कडा टिप्पणी गरेपछि दुबै पक्ष सहमतिमा पुगेका हुन् । त्यसपछी आन्दोलनरत विद्यार्थी र क्याम्पस पक्षबीच तत्काल विरोध कार्यक्रम नगर्ने गरी तीन बुँदे सम्झौता भएको छ । सम्झौताअनुसार स्थगित कक्षा ११ र १२ को आन्तरिक परीक्षा तत्काल सञ्चालन गर्ने, घाइते विद्यार्थीहरुको उपचार क्याम्पसले गर्ने र विद्यार्थीका समस्या तथा अन्य विषयमा मंगलबार पुनः छलफल गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पर्साका सिडिओ दाहालका अनुसार शिक्षकहरू अनुपस्थित भएपछि क्याम्पसले परीक्षा स्थगित गरेको जनाएका छन भने क्याम्पस प्रमुख रविन्द्र यादवले पनि शिक्षकहरू नआएपछि परीक्षा स्थगित गर्नुपरेको बताएका छन् । उनले मंगलबारदेखि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

