पर्सा राष्ट्रिय निकुन्जको हात्तिसारमा रहेकी राप्तिकली हात्तिबाट जन्मेको नवजात छावा हात्तिको आज नामाकरण गरिएको छ ।
निकुन्जको हात्तिसारमा जन्मेको छावाको आज १२ औँ दिनका दिन बैदिक सनातन परम्परा अनुसार न्वारण संस्कार सम्पन्न गरिएको हो । चैत्र महिनाको रानवमी तिथि अर्थात भगवान रामको जन्मदिनको दिन परेको अवसरमा गरिएको नामाकरण संस्कार अनुसार नवजात छावाको नाम श्रीरामचन्द्र गज राखिएको निकुन्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जनाउनुभएको छ । उँहाले पर्सा राष्ट्रिय निकुन्जको हात्तिसारमा रहेका हात्तिहरु जंगली हात्तिको संसगबाट बच्चा पाउने गरेको बताउनुभयो । केही समस्याग्रस्त हात्तिहरु बस्तिमा आउंदा हुने द्वन्दका घटना बाहेक पर्सा राष्ट्रिय निकुन्जको हात्तिसार जंगली हात्तिको संसर्गबाट बच्चा पाउने ब्रिडिगं सेण्टरको रुपमा विकास भएको बताउनुभयो । राप्तिकलीबाट जन्मेको श्री रामचन्द्र गज यमगज नामक जंगली हात्तिको सम्पर्कबाट जन्मेको उंहाले दाबी गर्नुभयो ।

रामनवमीको दिन सार्वजनिक बिदा भएपनि पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लगायतका निकुन्ज र हात्तिसारका कर्मचारीहरुको उपस्थितिमा बैदिक सनातन परम्परा अनुसार पण्डितबाट मन्त्र बाचन गरी श्रीरामचन्द्र गजको नामाकरण गरिएको हो । न्वारनको संस्कार सम्पन्न गर्नका लागि सुक्रबार बिहानदेखि नै हात्तिसारका कर्मचारीहरु राप्तिकली र तिनले पाएको छावालाई सजाउन लागिपरेका थिए । न्वारन कर्मका लागि आवश्यक सम्पूर्ण तयारी भएपछि एक समारोहका बिच श्रीरामचन्द्रको न्वारन गरिएको हो ।

२८ बर्षिय राप्तिकलीले पहिलो पटक बच्चा जन्माएको देख्दा राप्तिकलीकै स्याहारमा खटिने माउते अजय चौधरी त्यस अवसरमा निकै उत्साहित देखिएका थिए । “पहिला पनि एक पटक राप्तिकलीले गर्भधारण गरेकी थिईन । । तर गर्भ तुहियो । यसपटक भने सफल रुपमा बच्चा जन्माउन सकिन । राप्तिकलीकै कारण हात्तिसारमा नयां सदस्य थपिएकोमा हामी निकै खुशी छौ ।” माउते अजय चौधरीले भन्नुभयो । आफुले स्याहारेको हात्तिले बच्चा पाउँदा र उसको न्वारन संस्कारमा पनि सहभागी हुन पाउँदा आफु निकै हर्षित भएको उनले बताउनुभयो ।

श्रीरामचन्द्र गजको न्वारण कर्ममा सहभागी निकुन्जकै पशु चिकित्सक शर्मिला ढकाललाई भने हात्तिसारमा भैरहेको यो कार्य निकै नौलो लागिरहेको थियो । अन्य धेरै घर पालुवाको स्वास्थ्य उपचारमा सँलग्न भएपनि जंगली जनावरलाई पहिलो पटक सुत्ेकरी गराउने मौका पाएको बताउने शर्मिला हात्तिको न्वारन संस्कारमा पनि संलग्न हुन पाउंदा आफु निकै उत्साहित भएको बताउनुभयो ।
१० वटा हात्तिको दरबन्दी भएको पर्सा राष्ट्रिय निकुन्जको हात्तिसारमा ७ वटा हात्तिहरु छन । राप्तिकली तिमध्येकै एउटा पोथी हात्ति हुन् । जसले आफ्नो २८ वर्षको उमेरमा पहिलो पटक श्रीरामचन्द्र गजलाई जन्म दिन सफल भएकी हुन् । जंगली हात्तिको सँसर्गबाट गर्भधारण गरि बच्चा जन्माउने राप्किलीको माध्यमबाट यो हात्तिसारमा एउटा नयाँ सदस्य थपिंदा त्यंहाका सम्पूर्ण कर्मचारीहरु निकै उत्साहित छन ।

