वातावरण संरक्षण सम्बन्धी चित्रकला प्रतियोगिता सम्पन्न

श्री महावीर राष्ट्रिय माध्यमिक विधालय ब्रहमपुरीमा वातावरण संरक्षण तथा विद्यार्थीको भूमिका विषयक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त विधालयमा आयोजित चित्रकला प्रतियोगितामा विद्यालयका २५ जना छात्रछात्राहरूले सहभागीता जनाएका थिए । सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण र विद्यार्थीको भूमिका झल्कने खालका चित्रहरू बनाई विद्यालयको प्राङ्गणमा टाँसी प्रदर्शन समेत गरेका थिए ।
कलैया १७ का वडाध्यक्ष दिपेन्द्र महतोको प्रमुख आतिथ्यता तथा सोही विद्यालयका प्रधानाध्यापक रमेश प्रसादको अध्यक्षतामा सम्पन्न चित्रकला प्रतियोगिता कार्यक्रममा विद्यार्थीहरूले बनाएका चित्रहरू ५ जना शिक्षक हरूको निर्णायक मण्डलले प्रथम द्वितीय र तृतीय छनोट गरेका थिए । प्रतियोगितामा सोही विद्यालयका कक्षा नौ मा अध्ययनरत छात्र सन्देश शाह प्रथम भएका थिए भने कक्षा ४ मा अध्यनरत छात्रा कृति महतो द्वितीय र कक्षा ९ मा अध्ययनरत छात्र बलिराम शाह तृतिय स्थान हासिल गरेका थिए । विजेता तिनै जनालाई प्रमुख अतिथि तथा अन्य अतिथिगणले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष महतोले विद्यार्थीहरूले वातावरण सम्बन्धी बनाएका चित्रहरू मार्फत आजभोलि हामीले भोगिरहेको अवस्थाको ज्वलन्त उदाहरण प्रस्तुत गरेको बताउनुभयो । चित्रले दिएका सन्देशहरुलाई चित्रमा मात्र सीमित नराखी आफ्नो जीवनमा समेत उतार्नुपर्ने तथा वातावरण संरक्षणमा सबै सहभागी हुनुपर्ने उनको तर्क थियो । त्यस्तै सोही विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद कुशवाहाले चित्रकला प्रतियोगिता गाउँघरमा पनि बच्चाहरूमा भएको भित्री हुनर बाहिर निकाल्नमा सहयोग गरेको बताउनुभयो । उँहाले बच्चाहरुले बनाएको चित्रहरु हेर्दा आफु अचम्मित परेको बताउँदै विधालयमा अध्ययनरत विधार्थीहरुमा भएको चित्रकलाको हुनरलाई सराहना गर्नुभयो ।
केही दिन पहिला सामाजिक परिवर्तन केन्द्र काठमाडौँले त्यस विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई अतावरणीय हिंसा सम्बन्धी दिएको तालिम पश्चात कक्षा १० मा पढ्ने पाँच जना विद्यार्थीहरूको नेतृत्वमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता गराउने कार्यमा सहयोग गर्ने समाजिक परिवर्तन केन्द्रलाई धन्यवाद दिँदै विद्यार्थीहरूले वातावरण संरक्षण सम्बन्धी बनाएका अन्य योजनाहरूमा समेत हामी लगायत यस विद्यालयका सम्पूर्ण शिक्षक वर्ग सहयोग गर्ने प्रतिबद्धता गर्दै सोही विद्यालयका शिक्षक रामाक्रान्ति यादवले जानकारी गराउनुभयो ।

Leave a Comment