श्री दुर्गा नमुना मावि कलैया–७ बरेवा बैरिया का कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले सरसफाईप्रति चासो देखाउँदै विद्यालयको सरसफाईमा जुटेका छन ्।
सरसफाईमा चासो देखाएको विधार्थीहरुले एक औपचारिक कार्यक्रमको माध्यमबाट सफाई अभियानमा जुटेका हुन् । उक्त विधालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको नेतृत्वमा भएको सफाई कार्यक्रममा सहभागी विद्यार्थी जय प्रकाश कुशवाहाले कार्यक्रमको बारेमा प्रकाश पार्दै सोही विद्यालयका केही दिन अगाडि सामाजिक परिवर्तन केन्द्र काठमाडौँले वातावरण सम्बन्धी प्रदान गरेको तालिमले आफुहरुलाई सरसफाईप्रति सचेत र जागरुक बनाएको बताए । उक्त कार्यक्रम पश्चात आफ्नो विद्यालयको स्वक्षता र सुन्दरता कायम राख्नका लागि तथा विद्यालय वरिपरिको वातावरण सुन्दर र हराभरा राख्नको लागि यो कार्यक्रम गरेको उनले प्रष्ट पारे । विधालयमा आयोजित सरसफाई कार्यक्रमले विद्यार्थीहरूमा आफू तथा आफ्नो विद्यालय समाज कसरी सफा राख्ने तथा वरिपरिको वातावरण कसरी स्वक्ष बनाउने अपेक्षा गरिएको थियो । विधार्थीहरुले आयोजना गरेको सरसफाई कार्यक्रमको सराहना गर्दै विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद यादवले विद्यार्थीहरूले गरेको प्रयासमा विधालयको समर्थन रहेको तथा यसले विद्यार्थीहरूको जीवनमा पढाइको अलावा जिवन उपयोगी ज्ञान पनि समावेश गर्ने भएकोले यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जाने जानकारी गराए । विधालयमा आयोेजित सरसफाई कार्यक्रमको सभाध्यक्षता विद्यालयका प्रधानाध्यपक मनोज यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादव तथा अतिथिमा उमाशंकर यादव रहेका थिए । कार्यक्रमको सञ्चालन सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिमरन खातुनले गरेको थिए । समाजिक परिवर्तन केन्द्रको सहजीकरणमा भएको उक्त कार्यक्रम विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्नका लागि उनीहरूले नै बनाएका योजनामा हामीले सहयोग स्वरूप सानो डस्टबिन १० थान, ठूलो डस्टबिन दुई थान र १५ थान झाडु उपलब्ध गराइएको सामाजिक परिवर्तन केन्द्रका फिल्ड अफिसर विक्की महतोले बताए ।
