बारा, पुस ०७ गते ।
मानव र वन्यजन्तुको अप्राकृतिक मृत्यु र दुर्घटना न्युनिकरणसँगै मानव र वन्यजन्तुबिचको द्वन्द न्युनिकरण गर्न रेखात्मक सँरचनाहरु बन्यजन्तु मैत्री निर्माण गर्न पर्सा राष्ट्रिय निकुञ्जले सरोकारवालाहरुसँग आग्रह गरेको छ ।
वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि सम्बन्धित सरोकारवाला निकायसँग अन्तरकृया गर्दै पर्सा राष्ट्रिय निकुञ्जले रेखात्मक सँरचनाहरु निर्माण गर्दा बन्यजन्तुलाई ध्यानमा राखेर निर्माण गर्न जिल्लास्थित विकासका सबै साझेदार सँस्थासँग आग्रह गरेको हो ।
जेड एस एल र युके ईण्टरनेशनल डेभेलपमेण्टको सहकार्यमा पर्सा राष्ट्रिय निकुञ्जले बाराको जितपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । बारा जिल्लास्थित विकासका सबै साझेदारसँस्थाहरुको सहभागितामा अन्तरकृया गर्दै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८ कार्यान्वयनमा ल्याईसकेको बताउँदै निकुञ्जले निर्देशिका बमोजिम वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्न सबैसँग आग्रह गरेको हो ।
निर्देशिका आउनुअघि सरकारले निर्माण गरेका सँरचनाहरुमा खासगरी सडक पूर्वाधार जस्ता सँरचना निर्माण गर्दा वन्यजन्तुको बासस्थान खण्डिकृत भएको र वन्यजन्तुको आवागमनका लागि जैविक मार्गको अभाव हुँदा वन्यजन्तु र मानव दुबै दुर्घटनामा परी अप्राकृतिक मृत्युको शिकार हुनपुगेको बताउँदै त्यसको न्युनिकरणका लागि अब बन्ने पूर्वाधार वन्यजन्तु मैत्री निर्माण गर्न निकुञ्जले सबैसँग आग्रह गरेको छ ।
बास वा आहाराका लागि वन्यजन्तुहरु एक ठाउँबाट जाँदा सडक पार गर्नुपर्ने र सवारी आगमनका कारण कहिले उनीहरु दुर्घटनामा परी मृत्यु हुने र कहिले बाटो बिराएर गाउँतिर पस्दा मानविय क्षति हुँदा त्यसले निम्याउँदा मानव र वन्यजन्तुबिच द्वन्द सृजना हुनेगरेको छ ।
सन् २०२० को सरकारी तथ्याँक केलाउँदा मानवका कारण ५ सय ११ वन्यजन्तुको अप्राकृतिक मृत्यु भएको र १ सय ८ वन्यजन्तु दुर्घटनाको शिकार भएको पाईएको छ भने वन्यजन्तुका कारण ३७ जना मानिसको ज्यान गएको र १ सय ९२ जना जँगली जनावरबाट घाईते भएको पाईएको छ । विकासका पूर्वाधार निर्माणको क्रममा निर्माण भएका सडक र बिधुत सन्जाल जस्ता रेखात्मक सँरचनाहरु अधिकाँश रुपमा जँगलकै बिचबाट निर्माण भएको र त्यसमा जैविक मार्ग निर्माणमा खासै ध्यान नपुर्याएकोले यस्ता अवस्था आएको कार्यक्रममा जानकारी गराईएको थियो ।
मानव र वन्यजन्तुको अप्राकृतिक मृत्यु बढेपछि त्यसको न्युनिकरण गर्न बाध्य भएर सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८ कार्यान्वयनमा ल्याएको बताउँदै निकुञ्जले वन्यजन्तुको आवागमन हुने क्षेत्रमा पूर्वाधार निर्माण गर्दा निर्देशिका बमोजिम गर्न र निर्देशिका जारी हुनुअघि निर्माण भएका पूर्वाधारलाई पनि वन्यजन्तु मैत्री बनाउने प्रयास गर्न सबैसँग आग्रह गरेको थियो ।