बाराको जीतपुरसिमरा उप–महानगरपालिकाको डुमरवाना र फत्तेपुरस्थित साना किसान दुई कृषि सहकारी सँस्थामा एकै दिन चोरी भएको छ ।
झण्डै ९ हजार शेयर सदस्य रहेको नेपालकै चर्चित कृषि सहकारी सँस्थाको रुपमा रहेको बाराको डुमरवास्थित साना किसान कृषि सहकारी सँस्थामा बिहिबार राति चोरी भएको हो । सुक्रबार बिहान आठ बजे सहकारीका कर्मचारीहरु कार्यालयमा आउँदा कार्यालको ढोका फुटेको र कार्यालमा रहेको सिसि क्यामेराको कण्ट्रोल रुमको सामानसँगै भल्ट फोडेर रकम समेत चोरी भएको देखेपछि प्रहरीलाई जानकारी खबर गरेका थिए । कार्यालय रहेको भवनको ढोका फोडेर भित्र पसेका चोरले कार्यालयको भल्टभित्र रहेको नगद रु ५७ हजार चार सय ३० रुपैया चोरी गरेका सहकारीका अध्यक्ष प्रदिप बरालले जानकारी गराएका छन । चोरले कार्यालयमा रहेको माईक्रोटिक राउटर र सिसि क्यामेराको ब्याकअप रहने एनभिआर डिभाईस चोरेर लगेको समेत अध्यक्ष प्रदिप बरालले बताए । चोर पत्ता लगाई आवश्यक कार्यवाही गर्न सँस्थाले प्रहरीसँग माग गरेको छ ।
उता बिहिबार राति नै बारा जीतपुरसिमराको फत्तेपुरमा रहेको साना किसान सहकारी सँस्थामा पनि चोरी भएको छ । फत्तेपुरमा रहेको साना किसान कृषि सहकारी सँस्थाबाट भने चोरहरुले कार्यालयमा रहेको भल्ट फुटाएर करिब १२ लाख रुपैया चोरी गरेको सँस्थाले जनाएको छ । बिच बजारमा रहेको दुबै सहकारीबाट चोरहरुले भल्ट फुटाएर चोरी गर्दा पनि नजिकै रहेको प्रहरी कार्यालयहरु बेखर भएको दुबै सँस्थाका सदस्यहरुले गुनासो गरेका छन ।
पछिल्लो समय चोरहरुको सँगठित गिरोह सक्रिय भएर सहकारीलाई निशाना बनाएर योजनाबद्ध रुपमा चोरी गरिरहेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन । रात परेपछि बाटोमा सवारी रोकेर चेकजाँचमा व्यस्त सिमराको प्रहरी नगर र गाउँटोलमा हुने चोरी जस्ता अपराधका घटना नियन्त्रणमा खासै चासो नदिएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन ।