बर्तमान सरकार गठबन्धनको सरकार होईन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपि शर्मा ओलीले बर्तमान सरकार गठबन्धनको सरकार नभई सहमतिको सरकार भएको जिकिर गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कार्यसमिति पर्साले पर्साको सँखुवा पर्सौनी गाउँपालिकाको औराहा पँचगावामा आयोजना गरेको बृहद पार्टि प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्न आईतबार पर्सा पुग्नुभएका प्रधानमन्त्री ओलीले यस्तो जिकिर गर्नुभएको हो । अप्ठ्यारो मोडमा पुगेको मुलुकको राजनितिलाई निकास र समग्र मुलुकको विकास गर्न नेकपा एमालेले काँग्रेससँग सहमति गरेर सहमतिको सरकार बनाएकोले अहिलेको सरकार गठबन्धनको नभएर सहमतिको सरकार भनेर बुझिदिन सबैलाई आग्रह गर्नुभयो । पछिल्लो राजनितीमाथि टिप्पणी गर्दै उँहाले सत्यसँग कुनै सरोकार नराख्ने र झुठ बेईमानी गरी जनता झुक्याउने केही गलत तत्वहरु अहिले नेपाली राजनितिमा सक्रिय भएकोले त्यसका बिरुद्ध सावधान रहन आम सर्वसाधारलाई आग्रह समेत गर्नुभयो ।

सम्बोधनको क्रममा उँहाले त्यस्ता अहिले मुलुकमा सक्रिय भएको गलत बेईमान तत्वलाई बाई बाई गरेर मुलुकमा नेकपा एमाले हाई हाई गर्ने बताबरण तयार गर्न सबैमा आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकमा अहिलेसम्म भएका सबैखाले विकास एमालेले नै गरेको बताउँदै अन्य सभामा भाषण गरेजस्तै पर्सामा आयोजना भएको बृहद पार्टि प्रवेश कार्यक्रम तथा आम सभालाई सम्बोधन गर्ने क्रममा पनि समुद्रमा जहाज कुदाउनेदेखि पूर्व पश्चिम रेलमार्ग बनाउन नेकपा एमाले आफ्नो सम्पूर्ण शक्ति लगाएको बताउनुभयो ।

सम्बोधनको क्रममा उँहाले मधेशका मसिहा भन्ने मधेशी दलदेखि परिवर्तनका बाहक बताउने माओबादी लगायतका दलहरुको आलोचना गर्दै प्रधानमन्त्री ओलीले नेपालमा भएका र भईरहेका विकासको श्रेय नेकपा एमालेलाई दिँदै यो मुलुकमा एमाले बाहेक अरु कसैले विकास गर्न सक्दैन भन्ने ठोकुवा गर्नुभयो । बर्तमान सरकार गठबन्धनको सरकार नभई देशलाई विकास र निकास दिन नेकपा एमालेले काँग्रेससँग सहकार्य गरी सहमतिको सरकार बनाएको जिकिर गर्नुभयो । उँहाले मुलुकको समग्र विकास र निकासका लागि २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमतका साथ जिताउन आग्रह गर्नुभयो ।

Leave a Comment