सरकारी अनुदानको रसायनिक मल भण्डारण गरी राखेको अवस्थामा पर्सामा प्रशासनने एक सय ९१ बोरा मल बरामद गरेको छ ।
सरकारी अनुदानको मल भण्डारण गरि महँगो मूल्यमा बिक्री गरिरहेको सुचनाको आधारमा पर्साका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा खटिएको संयुक्त अनुगमन टोलीले विभिन्न स्थानमा छापा मार्दा उक्त मल बरामद भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको निर्देशनमा टोलीले बुधबार सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटेया गाउँका दुई घरमा छापा मारेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधिहरू सहभागी उक्त टोलीले साह मोहम्मद अन्सारी र युनुस अन्सारीको घरमा छापा मारेको थियो । छापामारी गर्दा साह मोहम्मदको घरबाट डीएपी ९ बोरा, पोटास १८ बोरा र फस्फेट १सय १४ बोरा गरी १ सय ४१ बोरा मल बरामद गरेको छ भने युनुसको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा गरी ५० बोरा मल गरि कुल एक सय ९१ बोरा मल बरामद गरेको हो । बरामद गरिएको मल आवश्यक कार्यवाहिका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । मल भण्डारण गर्ने दुवै घरधनी फरार भएको प्रहरिले जनाएको छ ।