वीरगञ्जस्थित शाह प्याराडाइस होटेलको पहिलो तलमा दुई भारतिय नागरिकको शब फेला परेको छ ।
बिरगन्जको भानुचोकस्थित उक्त होटलको कोठा नम्बर १११ मा ती दुई भारतीय नागरिकको शव फेला परेको हो मृतकहरू भारतको त्रिपुरा राज्यका ६७ वर्षीय सजल आचारजी र २४ वर्षीय सागर आचारजी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । मृतकहरू एकै परिवारका बुवा र छोरा रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार उनिहरुले असोज १९ गते बिहान ४ बजे उक्त होटेलको १११ नम्बर कोठा लिएका थिए । होटेल स्रोतका अनुसार मृतकहरूले सोमबार दिउँसोसम्म नियमित रूपमा रुममै खाना मगाएर खाएका थिए । सोमबार साँझ खानाको लागि सम्पर्क गर्दा उनीहरूको फोन नउठेपछि होटेल कर्मचारीलाई शङ्का लागेको थियो ।मङ्गलवार साँझसम्म पनि कोठाको ढोका नखुलेपछि र होटेल कर्मचारीको बारम्बार सम्पर्क प्रयास असफल भएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठाको छेउमा रहेको अर्को कोठाको भेन्टिलेटरबाट हेर्दा छोरा सागर पङ्खामा झुन्डिएको र बुवा सजल बेडमा पल्टिएको अवस्थामा देखिएको डिएसपी लम्सालले बताए । डिएसपी लम्सालका अनुसार भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा मात्र ढोका खोल्ने प्रक्रिया अघि बढाइने छ । प्रहरीले हालसम्म कोठाको ढोका खोलेको छैन । डिएसपी लम्सालका अनुसार भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा मात्र ढोका खोल्ने प्रक्रिया अघि बढाइने छ । प्रारम्भिक अवलोकनमा आत्महत्याको सम्भावना देखिए पनि ढोका नखोलेसम्म मृत्युको कारण पत्ता लगाउन नसकिने उनले बताए ।
भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूसँग समन्वय भइरहेको र उनीहरू मङ्गलवार वीरगञ्ज आउन नसकेकाले बुधवार बिहान मात्र ढोका फुटाएर शव निकाल्ने योजना रहेको डिएसपी लम्सालले जानकारी दिए ।