थारु सँस्कृतिको जगेर्ना गर्न बारामा तिन दिने माघी महोत्सवको आयोजना गरिएको छ ।
थारु समुदायले मनाउने साँस्कृतिक पर्व माघीको अवसर पारेर बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ४ मा आजदेखि माघी महोत्सवको आयोजना गरिएको हो । पुष २९ गतेदेखि माघ २ गतेसम्म तिनदिन मनाईने माघी महोत्सवको आज एक कार्यक्रमका बिच बिधिवत उद्घाटन गरिएको छ । उद्घाटनको क्रममा आज थारु समुदायका महिला तथा पुरुषहरु आफ्नो जातिय पहिचान झल्किने परम्परागत झाँकि प्रदर्शन गरेका छन ।
बारा जिल्लाको विभिन्न ठाउँबाट झाँकि सहित थारु म्हिला तथा पुरुषहरु महोत्सवमा सहभागी भएका छन । महोत्सवको उद्घाटनमा सहभागि हुन थारु महिलाहरु आफ्नो समुदायले लगाउने स्थानिय पहिरन सेतो धोती र सारीसँगै परम्परागत गरगहनामा तथा पुरुषहरु सेतो धोती कुर्ता र गम्छा लगाएर उपस्थित भएका थिए । माघ १ गतेको माघी सँक्रान्तिलाई थारु समुदायले नयाँ बर्षको रुपमा समेत मनाउने गरेका छन । यस वर्षलाई लाया बरिष थारु सम्बत २६४८ को रुपमा मनाउन महोत्सवको आयोजना गरेका बाराका थारु समुदायले आआफ्नो ठाउँबाट थारुको जातिय पहिचान तथा सँस्कृति झल्किने नाचगानसँगै नाटक प्रदर्शन गरेका छन ।
नयाँ वर्ष माघीको अवसरमा सख्खरले डल्लो बनाएको बनुँही लाई, तिलवा जस्ता परिकार सनेश उपहारका रुपमा छोरीबेटीको घरमा लैजाने परम्परा अनुसार टाउको तथा भारमा सनेश बोकेको झाँकिसँगै थारु समुदायको परम्परागत कर्म कृषिमा प्रयोग गरिने हरफोर जस्ता कुरालाई झाँकि र गित सँगितको माध्यमबाट प्रस्तुत गरेका छन । त्यस्तै विभिन्न ठाउँबाट महोत्सवमा सहभागि महिलाहरुको समुहले थारु समुदायमा व्याप्त दहेज जस्ता कुप्रथासँगै थारु समुदायका पुरुषहरुमा ब्याप्त जाँड रक्सिको सेवनले थारु समुदाय बिकृतिको दलदलमा फँसेको त्यसले सामाजिक आर्थिक अवस्था समेत प्रभावित भएको कुरा नाटकको माध्यमबाट प्रस्तुत गरेका छन । थारु कल्याणकारिणी सभा बारा जिल्ला कार्यसमिति, जीतपुरसिमरा नगर समिति र जीतपुरसिमरा ४ नम्बर वडा समितिले बाराको जीतपुरसिमरा वडा नम्बर ४ स्थित प्लटिगँको जग्गामा सँयुक्त रुपमा थारु महोत्सवको आयोजना गरेको हो । तिन दिनसम्म चल्ने महोत्सवमा थारु समुदायका स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा थारु खानाका परिकारका रुपमा रहेको घोँगीँ, गँगटो, माछा, हाँसको मासु, परेवाको मासु, बगेया जस्ता परिकारहरुको स्टलहरु राखिएको छ ।