हैजा प्रभावित जिल्लाको रुपमा देखापरेको बारा र पर्सा जिल्लामा हैजा बिरुद्धको खोप खुवाउने कार्य शुरु भएको छ ।
हैजा रोग बिरुद्धको प्रतिकार्य स्वरुप यहि कार्तिकमा सन्चालन गरिने भनिएको खोप खुवाउने कार्य पर्सामा असोज २६ गते र बारामा असोज २७ गतेदेखी शुरु गरिएको हो । हैजा रोगबाट सुरक्षित गर्न हैजाको प्रकोप देखिएको पर्सा जिल्लाको सबै पालिका र बारा जिल्लाको कलैया र जितपुरसिमरा उपमहानगरपालिकासङ्गै परवानिपुर, प्रसौनी, फेंटा र बिश्रामपुर गाउंपलिका गरि ६ वटा पालिकाका सबै वडाहरुमा एकसाथ खोप सन्चालन भएको छ । एक बर्षभन्दा माथिको उमेर समुहका सबै ब्यक्तिका लागि निःशुल्क खुवाउन थालिएको हैजा बिरुद्धको खोप सुरक्षित मात्रै नभै जीवन रक्षा समेत गर्ने भएकोले उक्त उमेर समुहभित्र पर्ने सबैले अनिवार्य रुपमा खोप खानुपर्ने कार्यक्रममा खटिएका विश्व स्वास्थ्य संगठन डब्लु एच ओ का प्रतिनिधिहरुले जनाएका छन । गएको भदौको पहिलो सातामा पर्साको बिरगन्ज महानगरपालिका वडा नम्बर १२ मा पहिलो हैजाको केश देखिएकोमा त्यसको संख्या बढेर बारा र पर्सामा गरी एक हजार ६ सय ८५ पुगेकोले हैजा बिरुद्धको प्रतिकार्य स्वरुप खोप कार्यक्रम सन्चालन गर्न लागिएको डब्लु एच ओ का प्रतिनिधिहरुले जनाएका छन । बारा र पर्सामा खोप अभियान चलाउन विश्व स्वास्थ्य संगठनले नेपाललाई एक लाख खोप उपलब्ध गराएको छ । पर्सा जिल्लाका प्रभावितका लागि ६ लाख ५२ हजार एक सय २९ र बारा जिल्लाका लागि ३ लाख ६५ हजार ९ सय ३१ गरि कुल १० लाख १८ हजार ६० जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।
बारा र पर्सा जिल्लामा हैजा बिरुद्धको खोप खुवाउने कार्य शुरु
