अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मधेश प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ विगो माग दावी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन । प्रवक्ता पौडेलका अनुसार मधेश प्रदेशसभा सदस्य सिंहसमेतले विकास योजनाहरू सञ्चालनका लागि गठन गरिएका उपभोक्ता समितिहरूको खातामा दाखिला भएको रकममध्ये ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाइ उक्त रकम आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाएको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्विकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई मुद्दामा प्रतिवादी बनाइएको छ । धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २ सय ६० रुपैयाँ, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीविरुद्ध ६ लाख ५७ हजर ७ दय रुपैया बिगो माग गरिएको छ।
यसैगरी अधुरो कमलामाइ मन्दिर र माइस्थानको कम्पाउण्ड बाल निर्माण उपभोक्ता समितिका अध्यक्ष राम नाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ विगो माग गरिएको छ।
माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेसँग १ लाख ५० हजार रुपैया बिगो दाबी गरिएको छ भने कञ्जनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश बडर र कोषाध्यक्ष अमलेश कुमारीसँग १ लाख ५१ हजार ४ सय रुपैयाँ विगो दाबि गरिएको छ।
अर्का समिति अध्यक्ष दिपाराज देवी राजपूत,कोषाध्यक्ष भिखारी राउन कुर्मीसँग २ लाख ९७ हजार ७ सय ९४ रुपैयाँ विगो माग दावी गरिएको छ भने समिति अध्यक्ष शम्भुकुमार मण्डलसँग ४ लाख १ हजार ९ सय १५ रुपैयाँ माग दाबी गरिएको छ।
आयोगले रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जुदेवी पासमानसँग २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो माग दावीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
