आदिदेव सूर्यको उपासना गरेर मनाइने छठ महपर्वको दोस्रो दिन आज आइतबार देशभरका छठका ब्रतालुहरु खरना विधि मनाउंदै छन ।
कार्तिक शुक्ल चौथिका दिन नहाय खायको विधि पूरा गर्न नुहाइ धुवाई गरि चोखो भएका ब्रतालुहरु आज पन्चमिका दिन बिहानदेखि खरना विधि मनाइरहेका छन । खरना मनाउने क्रममा आज दिनभर उपवास बसेका ब्रतालुहरूले साँझ चामल, दूध र सक्खर मिसाएर तयार गरिएको खीर पकाई सूर्यदेवलाई अर्पण गरेपछि प्रसादस्वरूप ग्रहण गर्दै खरना मनाउने गर्छन् । यो खीर परिवारका सबै सदस्यले प्रसादका रूपमा ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा छ । सन्तान प्राप्ति र परिवारको सुख, शान्ती, समृद्धि र आरोग्यताको कामना गर्दै चार दिनसम्म मनाइने छठ पर्वमा भोलि कार्तिक शुक्ल षष्टिका दिन ब्रतालुहरु घरमा तयार पारेको अर्घका सामान बोकेर नजिकको छठघाटमा पुग्छन र अस्ताउदो सुर्यलाई अर्घ दिन्छन । पर्वमा बाँसका डालो, डगरी, माटोका कोसिया, हाँडी, कुरबार लगायत सामग्री चढाउने चलन छ । प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, मिठाई र फलफूल अर्पण गरिन्छ । यसरी अर्घ दिने ब्रतालुहरूले ४८ घण्टासम्म जलसमेत नखाई कठोर उपवास बस्ने परम्परा छ । कार्तिक शुक्ल सप्तमिका दिन बिहान उदाउंदो सुर्यलाई अर्घ दिएपछी छठ ब्रतको समापन हुन्छ । सप्तमिको बिहान पनि षष्टिको सांझ जस्तै अर्घका सम्पुर्ण प्रकृया गरिन्छ । सबै परिकार र विधिहरू पूर्ण शुद्धता, अनुशासन र निष्ठाका साथ पूरा गर्नुपर्ने भएकाले छठलाई अत्यन्त पवित्र र कठोर व्रतका रूपमा मानिन्छ ।

