साल प्रजातिका बिरुवाको पूनर्उत्पादनका लागि बाराको गढीमाई साझेदारी वन उपभोक्ता समितिले वनको झाडि सफाई कार्यलाई अभियानकै रुपमा थालनी गरेको छ ।
झाडीको नियमित सफाई हुन नसक्दा माईकेनिया, सिन्दुरे जस्ता बनमाराले झाँगिएको बारास्थित गढीमाई साझेदारी वनको झाडिलाई सफाई गरी त्यस ठाउँमा सालका रुखहरुको पूनर्उत्पादन गर्न झाडि सफाई कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको हो । पहिलो चरण अन्तर्गत ३४ हेक्टर वनको झाडि सफाई कार्यलाई निरन्तरता दिईएको समितिका अध्यक्ष रामएकवाल साहले बताउनुभयो ।
झण्डै एक हजार क्षेत्रफलमा फैलिएको गढिमाई साझेदारी वन उपभोक्ता समितिले ८३ वटा प्लटमा विभिाजित व्यवस्थापन गरिरहेको उक्त वनमा साल प्रजातीको रुखहरुको पुर्नउत्पादन गर्न पहिलो चरणमा गत बर्ष ३४ हेक्टर वन क्षेत्रको झाडी सफाई गरेको थियो । बाकि रहेको क्षेत्रको झाडि सफाई गर्न सकेको छैन । गत बर्ष सफाई गरिएको क्षेत्रमा एकातिर सालको पुर्नउत्पादन भई सालका लाथ्राहरु बाक्लिँदैगएका छन् भने त्यस ठाउँमा पुनः झाडि पनि उम्रेर झाँगिदैगएको थियो । झाँगिदैगएको झाडि सफाई गरी लाथ्रा भईसकेको सालको रुखहरुलाई हुर्कने बाताबरण निर्माण गर्न र अरु सालका बिरुवाहरुको पूर्नउत्पादन गर्न सो क्षेत्रलाई पूनः सफाई गर्ने काम गरिरहेको छ ।
तथ्याकंमा ४७ हजार १ सय ८१ हेक्टर वन क्षेत्र भएको बारामा सरकारद्धारा व्यवस्थित गरिएको वन क्षेत्र बाहेक ४ वटा साझेदारी र ४१ वटा सामुदायिकर एउटा निजी वन छ । ती मध्ये समितिद्वारा व्यवस्थित वनले बार्षिक रुपमा स्वीकृत कार्ययोजना अन्तर्गत काठदाउराको सदुपयोगबाट प्राप्त आम्दानीको केही हिस्सा वनको व्यवस्थापनमा खर्च गर्छन् । तर लामो समयसम्म बैज्ञानिक वन व्यवस्थापन पद्धति बिवादमा पर्नु र नयाँ वन नियमावलीका कारण नयाँ कार्यसमितिको चयन र वनको कार्ययोजना स्वीकृतिमा ढिलाई भई काठदाउराको उपयोग हुन नसक्दा त्यसको असर वन व्यवस्थापनमा परेको थियो । समयमै समितिको निर्वाचन सम्पन्न गरी कार्ययोजना समेत तयार गरिसकेको गढीमाई साझेदारी वनले बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना अन्तर्गत सालको रुख कटान भई झाडि बनेको प्लटमा सालको बिरुवा पूर्नउत्पादन गर्न गत बर्षदेखि झाडि सफाई कार्यलाई निरन्तरता दिएको हो । कटान भएको वन क्षेत्रमा सालको बिरुवाको पूर्नउत्पादन गर्न झडिको सफाई अनिवार्य भएकोले सो कार्यलाई अभियानकै रुपमा निरन्तरता दिएको पथलैया सब डिभिजनका वन अधिकृत बिमल ठाकुरले बताउनुभयो ।
साल प्रजातिका रुखका लागि प्रख्यात बाराको अधिकाँश वनक्षेत्र यतिबेला माईकेनिया झाडी र सिन्दुरे जस्ता बनमारा प्रजातिको जँगलको रुपमा परिणत हुँदैगएको छ । खास गरी बैज्ञानिक वन व्यवस्थापन पद्धति अन्तर्गत कटान भएका सालको रुखको ठाउँमा हुर्केको झाडीलाई समयमा सफाई नगर्दा वनका ती क्षेत्रहरु माईकेनिया र सिन्दुरेको जँगलमा परिणत भएका हुन् । अन्य क्षेत्रमा पनि नियमित झाडी सफाई नगर्दा सालको वन बनमाराको जँगल बन्दैगएको छ ।
४० वर्ष उमेर पुगेका सालका रुखहरु पुर्नउत्पादनका लागि व्यस्क हुन्छन भने ति सालको रुखबाट झरेको बिउ २४ घन्टाभित्र माटोसँग स्पर्स भए मात्रै नयाँ बिरुवा उम्रन पाउँने भएकोले झाडिको सफाई अनिवार्य प्रक्रिया भएको डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले बताउनुभयो । “यो कार्य निरन्तर चल्नुपर्छ । नत्र वनमा उम्रेको झाडि सालको रुखभन्दा छिटो बढने भएकोले त्यसले सालको रुखलाई थिचेर हुर्कन दिँदैन । तर झाडिको सफाई नगर्दा माईकेनियाले जमिन नै ढाकेपछि रुखबाट झरेका सालको बिउ जमिनसम्म पुग्न नसक्दा सालको वन विभिन्न प्रकारका झाडीको जँगलमा परिणत हुँदैगएको हो ।” प्रमुख झाले भन्नुभयो ।
वनको विकास र व्यवस्थापनमा पशुचौपायाको चरिचरन सबैभन्दा ठुलो समस्याको रुपमा देखापरेको बाराको वन पछिल्लो समय माईकेनिया झार र सिन्दुरे जस्ता कुकाठको रुखले समस्याग्रस्त बन्दैगएको छ । सालको ठाउँमा झाँगिएको माईकेनिया र सिन्दुरेको फडानी गर्न समिति मात्रैको प्रयास त्यति प्रभावकारी देखिएको छैन ।