बाघ बढेसंगै पर्सा राष्ट्रिय निकुञ्जको CA|TS प्रमाणीकरण तर्फको यात्रा


रामचन्द्र खतिवडा
प्रमुख संरक्षण अधिकृत (वार्डेन), पर्सा राष्ट्रिय निकुञ्ज

क. पृष्ठभूमि

बाघ संरक्षणको चर्चा गर्दा हाम्रो पहिलो प्रश्न प्रायः हुन्छ—“पर्सा राष्ट्रिय निकुञ्जमा बाघ कति छन्?” तर आधुनिक संरक्षणको प्रश्न संख्या मात्र होइन; बाघ कति सुरक्षित छन्, उनीहरूको बासस्थान कति स्वस्थ छ, आहारा र पानी पर्याप्त छ कि छैन, सुरक्षा तथा वैज्ञानिक अनुगमन कति प्रभावकारी छ र बाघको बासस्थान रहेको बनजंगलको निकटबर्ती क्षेत्रमा बस्ने स्थानीय समुदाय कति सुरक्षित तथा संरक्षणमा सहभागी छन्? भन्ने पनि हो। यही व्यापक दृष्टिकोणबाट पर्सा राष्ट्रिय निकुञ्जको CA|TS प्रमाणीकरण तर्फको यात्रालाई बुझ्न आवश्यक छ।

CA|TS (Conservation Assured | Tiger Standards) बाघ संरक्षणको गुणस्तर मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय प्रणाली हो। यसले बाघको संख्या मात्र नभई बासस्थान, आहारा प्रजाति, सुरक्षा, व्यवस्थापन, जनशक्ति, पूर्वाधार, वैज्ञानिक अनुगमन, समुदायसँगको सम्बन्ध, मानव–बाघ द्वन्द्व, पर्यटन तथा बाघको दीर्घकालीन अवस्थालाई समग्र रूपमा हेर्छ। त्यसैले CA|TS केवल अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया होइन; यो संरक्षण व्यवस्थापनका बलिया पक्ष संस्थागत गर्ने, कमजोरी पहिचान गर्ने र व्यवस्थापनलाई प्रमाणमा आधारित, परिणाममुखी तथा निरन्तर सुधारतर्फ लैजाने अवसर हो।

पर्सा राष्ट्रिय निकुन्जको बाघ संरक्षण यात्रामा पछिल्लो समय उल्लेखनीय उपलब्धि हासिल भएको छ। सन् २०२२ को राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बयस्क बाघ अभिलेख भएकोमा सन् २०२६ को गणनामा यो संख्या बढेर ७१ पुगेको छ। यसले बासस्थान संरक्षण, आहारा व्यवस्थापन, सुरक्षा तथा वैज्ञानिक अनुगमन लगायतका संरक्षण प्रयासको सकारात्मक परिणामलाई संकेत गर्छ। तर बाघको संख्या बढ्नु अन्तिम गन्तव्य होइन; बढेको संख्यालाई स्वस्थ, सुरक्षित र दीर्घकालीन रूपमा कायम राख्नु अबको मुख्य चुनौती हो।

यसै सन्दर्भमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई CA|TS मान्यताका लागि मूल्याङ्कन प्रक्रिया अगाडि बढाएको छ। यो पर्सा राष्ट्रिय निकुन्जको संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा समीक्षा गर्ने महत्वपूर्ण अवसर हो। CA|TS का ७ Pillars र १७ Elements मार्फत यस निकुन्जको संरक्षणको महत्व र अवस्था, व्यवस्थापन, समुदाय, पर्यटन, सुरक्षा, बासस्थान व्यवस्थापन तथा बाघको जनसंख्या लगायतका पक्षलाई समग्र रूपमा मूल्याङ्कन गर्न सकिन्छ।

यस यात्राको महत्वपूर्ण आधार मध्ये मानव-बाघ सहअस्तित्व पनि हो। बाघको संख्या बढ्दै जाँदा समुदायको सुरक्षा र सहभागिता अझ महत्वपूर्ण बन्छ। यही सोचसँग पर्सा राष्ट्रिय निकुञ्जले सुरु गरेको ‘बाघ मित्र अभियानलाई जोड्न सकिन्छ। अभियान मार्फत बाघको व्यवहार र सम्भावित जोखिमबारे समुदायमा सचेतना अभिवृद्धि गर्ने, बाघ देखिएमा समयमै सूचना दिने, सुरक्षित व्यवहार अपनाउने, सम्भावित द्वन्द्व न्यूनीकरण गर्ने तथा निकुञ्जसँग समन्वय र सहकार्य बढाउने प्रयास गरिएको छ। यसको मूल उद्देश्य समुदायलाई संरक्षणको बाहिरी पक्ष वा जोखिममा पर्ने समूहका रूपमा मात्र होइन, बाघ संरक्षणका सक्रिय साझेदारका रूपमा स्थापित गर्नु हो। यस अर्थमा ‘बाघ मित्र’ र CA|TS फरक पहल भए पनि दुवैको साझा भावना बाघ संरक्षणलाई प्रभावकारी बनाउँदै मानिस र बाघबीच सुरक्षित तथा दिगो सहअस्तित्व कायम गर्नु हो।

त्यसैले यस निकुन्जको आगामी संरक्षण यात्रा अब “बाघ कति छन्?” भन्ने प्रश्नबाट अगाडि बढेर “बाघ कति सुरक्षित छन्, जंगल कति स्वस्थ छ र मानिस कति सुरक्षित तथा संरक्षणमा जोडिएका छन्?” भन्ने प्रश्नतर्फ केन्द्रित हुन आवश्यक छ। बाघको संख्या ४१ बाट ७१ पुग्नु उपलब्धि हो; त्यस उपलब्धिलाई गुणस्तरीय व्यवस्थापन, सुरक्षित सहअस्तित्व र दिगो संरक्षणमा रूपान्तरण गर्नु अबको जिम्मेवारी हो। यस अर्थमा यस निकुन्जको CA|TS मान्यता तर्फको यात्रा प्रमाणपत्र प्राप्त गर्ने मात्र नभएर बाघ, बाघको बासस्थान र समुदायलाई एउटै संरक्षण दृष्टिकोणमा जोड्दै यस निकुन्जको संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय गुणस्तरमा पुर्‍याउने महत्वपूर्ण अवसर हो।

ख. पर्सा राष्ट्रिय निकुञ्जको CA|TS प्रमाणीकरण प्रक्रिया

१. CA|TS Registration (दर्ता) : पर्सा राष्ट्रिय निकुञ्जले CA|TS मा सहभागिता जनाई (Registration) आफ्नो व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार मूल्याङ्कन गर्ने प्रक्रिया सुरु गर्छ।

२. Self-Assessment (स्वमूल्याङ्कन): निकुञ्जले CA|TS का Pillars (मुख्य आधार) र Elements (मापदण्ड) अनुसार बाघको अवस्था, बासस्थान, आहारा, सुरक्षा, व्यवस्थापन, समुदाय, पर्यटन र जनशक्तिको अवस्था प्रमाणसहित मूल्याङ्कन गरिन्छ ।

३. Improvement Plan (सुधार योजना) : कमजोर देखिएका पक्षमा Habitat Management (बासस्थान व्यवस्थापन), Prey Base (आहारा प्रजाति), Anti-Poaching (चोरी–शिकार नियन्त्रण), SMART Patrol (प्रविधिमैत्री गस्ती), Human–Tiger Conflict Management (मानव–बाघ द्वन्द्व व्यवस्थापन), Community Engagement (समुदाय सहभागिता) लगायतका सुधार कार्यक्रम सञ्चालन गरिन्छ।

४. Compliance Dossier (अनुपालन दस्तावेज) : स्वमूल्याङ्कन र सुधारका प्रमाणलाई व्यवस्थित गरी CA|TS Compliance Dossier (मापदण्ड पालना प्रमाण–दस्तावेज) तयार गरिन्छ।

५. National Committee Review (राष्ट्रिय समिति समीक्षा) : दस्तावेज CA|TS National Committee–Nepal (नेपाल राष्ट्रिय समिति) मा पेश हुन्छ। समितिले मापदण्ड र प्रमाणको समीक्षा गरी आवश्यक सुधार सुझाउँछ। त्यसपछि Independent Reviewer (स्वतन्त्र मूल्याङ्कनकर्ता) बाट समेत समीक्षा हुन्छ।

६. Recommendation (सिफारिस) : मापदण्ड पूरा भएको अवस्थामा National Committee ले पर्सालाई CA|TS Approved का लागि सिफारिस गर्छ।

७. International Executive Committee (अन्तर्राष्ट्रिय कार्यकारी समिति) : National Committee को सिफारिस र Compliance Dossier CA|TS Management Team मार्फत International Executive Committee–IEC (अन्तर्राष्ट्रिय कार्यकारी समिति) समक्ष पुग्छ। IEC ले प्रक्रिया र मापदण्डको अन्तर्राष्ट्रिय स्तरमा एकरूपता सुनिश्चित गर्छ।

८. Final Decision (अन्तिम निर्णय) : प्रमाण, राष्ट्रिय समितिको सिफारिस र स्वतन्त्र समीक्षा अध्ययन गरी IEC ले CA|TS Approved दिने अन्तिम निर्णय गर्छ।

९. CA|TS Approved (अन्तर्राष्ट्रिय मान्यता) : स्वीकृति भएपछि पर्सा राष्ट्रिय निकुञ्जले CA|TS Approved (अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको बाघ संरक्षण क्षेत्र) को मान्यता प्राप्त गर्छ।

ग. CA|TS गुणस्तर मूल्याङ्कन गर्ने आधारहरु (7 Pillars) : निकुन्जले आफैँलाई सोध्नुपर्ने प्रश्नहरु

(१) महत्व र अवस्था : पर्सा राष्ट्रिय निकुन्ज किन महत्वपूर्ण छ?

पर्सा राष्ट्रिय निकुन्जको जैविक, सामाजिक तथा सांस्कृतिक महत्व, कानुनी आधार, संरक्षण क्षेत्रको अवस्था र संस्थागत संरचना यसअन्तर्गत आउँछन्। “यस निकुन्जको बाघ संरक्षणको जैविक, कानुनी र संस्थागत आधार कति बलियो छ?”

(२) व्यवस्थापन : योजना मात्र कि परिणाम पनि?

संरक्षणका लागि योजना मात्र पर्याप्त हुँदैन। जनशक्ति, पूर्वाधार, उपकरण, बजेट, संस्थागत क्षमता र अनुगमन प्रणाली पनि आवश्यक हुन्छ।“हामीसँग योजना मात्र छ कि त्यसलाई परिणाममा बदल्ने स्रोत र प्रणाली पनि छ?” CA|TS ले गतिविधि मात्र होइन, त्यसबाट आएको परिणामलाई महत्व दिन्छ।

(३) समुदाय : बाघसँगै मानिस पनि सुरक्षित छन्?

बाघ संरक्षण सफल हुन समुदाय सुरक्षित र संरक्षणको साझेदार हुनुपर्छ। त्यसका लागि Human–Tiger Conflict Risk Mapping, Early Warning System, समुदाय स्वयंसेवक, Rapid Response System तथा ‘बाघ मित्र अभियानलाई अझ व्यवस्थित बनाउन सकिन्छ। बाघ मित्रको मूल भावना समुदायलाई संरक्षणको दर्शक होइन, साझेदार बनाउनु हो—बाघको जोखिमबारे समयमै सूचना दिने, सुरक्षित व्यवहार अपनाउने र निकुञ्जसँग सहकार्य गर्ने।बाघ संरक्षण र मानव सुरक्षा एउटै संरक्षण रणनीतिका दुई पक्ष हुन्।

(४) पर्यटन : संरक्षणबाट स्थानीय अर्थतन्त्र सम्म

जिप सफारी, नेचर गाईड, होमस्टे, स्थानीय उत्पादन, प्रकृति व्याख्या तथा समुदायमा आधारित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सकिन्छ।तर सफलता पर्यटकको संख्या मात्र होइन— “पर्यटनबाट स्थानीय समुदायले कति रोजगारी, आम्दानी र अवसर पाए?” भन्ने प्रश्नबाट पनि मापन हुनुपर्छ।

(५) सुरक्षा : बाघ र जंगल कति सुरक्षित छन्?

चोरी–शिकार, अवैध गतिविधि तथा संरक्षण अपराध नियन्त्रणका लागि प्रभावकारी गस्ती, सूचना प्रणाली, सुरक्षा जनशक्ति, प्रविधि, अपराध अनुसन्धान र वन्यजन्तु अपराध अनुगमनलाई निरन्तर सुदृढ गर्न आवश्यक छ।

(६) बासस्थान व्यवस्थापन : बाघको बासस्थान स्वस्थ छ?

बाघलाई जंगल मात्र भएर पुग्दैन। उसलाई स्वस्थ बासस्थान, पर्याप्त आहारा, पानी र सुरक्षित आवतजावत आवश्यक हुन्छ। त्यसैले grassland, waterhole, fire management, invasive species control, forest regeneration र prey monitoring लाई वैज्ञानिक आधारमा निरन्तरता दिनुपर्छ। “बाघको बासस्थान स्वस्थ छ र उसको खाना पर्याप्त छ?”

(७) बाघको जनसंख्या : संख्या मात्र कि भविष्य पनि?

बाघको संख्या ४१ बाट ७१ पुग्नु महत्वपूर्ण उपलब्धि हो। तर संख्या मात्र पर्याप्त सूचक होइन। बाघको distribution, movement, population trend, स्वास्थ्य र दीर्घकालीन अवस्था पनि महत्वपूर्ण हुन्छ। “यी बाघ सुरक्षित, स्वस्थ र दीर्घकालसम्म टिक्ने अवस्थामा छन्?”

घ. समुदायको प्रश्न : “संरक्षणबाट हामीलाई के फाइदा?”

पर्सा राष्ट्रिय निकुन्जको संरक्षण सफलता कार्यालयको प्रतिवेदन वा प्रमाणपत्रमा मात्र होइन, मानव–बाघ द्वन्द्व घट्नु, मानिसको सुरक्षा बढ्नु, पर्यटनबाट रोजगारी सिर्जना हुनु, स्थानीय उत्पादनको बजार बढ्नु र अर्थतन्त्र बलियो हुनुमा देखिनुपर्छ। CA|TS आफैँ प्रत्यक्ष आर्थिक लाभ बाँड्ने कार्यक्रम होइन। तर यसको मापदण्डअनुसार व्यवस्थापन सुधारिँदा द्वन्द्व न्यूनीकरण, Early Warning, Rapid Response, समुदाय सहभागिता र जिम्मेवार पर्यटनलाई बलियो बनाउने आधार तयार हुन्छ।त्यसैले CA|TS लाई प्रमाणपत्रको दौडभन्दा व्यवस्थापन सुधारको अवसरका रूपमा लिनुपर्छ।

ङ. पर्सा राष्ट्रिय निकुन्जले CA|TS मान्यताबाट खोज्नुपर्ने चार ठोस परिणाम

(१) बाघ संरक्षणसँगै मानव सुरक्षा : Risk Map, Early Warning, बाघ मित्र र Rapid Responseलाई प्रभावकारी बनाउँदै जोखिम पहिल्यै पहिचान र न्यूनीकरण गर्ने।

(२) संरक्षणसँगै रोजगारी र स्थानीय अर्थतन्त्र : जिप सफारी, नेचर गाईड, होमस्टे, स्थानीय उत्पादन र प्रकृति पर्यटनमार्फत युवालाई रोजगारी र समुदायलाई आम्दानीसँग जोड्ने।

(३) स्वस्थ जंगल, सुरक्षित बाघ र परिणाममुखी व्यवस्थापन : बाघको बासस्थान, आहारा प्रजाति, waterhole, grassland, forest regeneration र wildlife monitoringलाई वैज्ञानिक आधारमा सुधार गर्दै बढेको बाघ संख्यालाई दिगो बनाउने।

(४) प्रमाणपत्र भन्दा ठूलो कुरा समुदायको विश्वास : CA|TS को सफलता गाउँको सुरक्षा, युवाको रोजगारी, पर्यटनबाट आम्दानी र निकुञ्ज–समुदायबीचको विश्वासमा देखिनुपर्छ।

च. निष्कर्ष :

पर्सा राष्ट्रिय निकुन्जमा बाघको संख्या ४१ बाट ७१ पुग्नु संरक्षणको महत्वपूर्ण उपलब्धि हो, तर अबको चुनौती यो उपलब्धिलाई दीर्घकालीन र गुणस्तरीय संरक्षणमा रूपान्तरण गर्नु हो। त्यसका लागि स्वस्थ बासस्थान, पर्याप्त आहारा–पानी, प्रभावकारी सुरक्षा, वैज्ञानिक व्यवस्थापन, समुदायको सहभागिता र स्थानीय लाभलाई सँगसँगै अघि बढाउन आवश्यक छ। CA|TS मान्यता संरक्षणको गुणस्तर सुधार्ने अवसर हो भने ‘बाघ मित्र’ मानव-बाघ सुरक्षित सह-अस्तित्व बलियो बनाउने माध्यम हो। अन्ततः CA|TS को सफलता प्रमाणपत्रमा होइन, सुरक्षित बाघ, स्वस्थ जंगल, सुरक्षित समुदाय, संरक्षणबाट रोजगारी र बलियो स्थानीय अर्थतन्त्रमा देखिनुपर्छ। बाघ बढ्नु उपलब्धि हो; त्यसलाई सुरक्षित राख्नु जिम्मेवारी हो। CA|TS प्रमाणीकरण त्यही उपलब्धिलाई गुणस्तरीय, वैज्ञानिक र दिगो संरक्षणमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर हो।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप