आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बित्तिय प्रगतिमा डिभिजन वन कार्यालय बारा मधेश प्रदेशमै उत्कृष्ठ हुन सफल भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा अनुसार मधेश प्रदेशको समग्र वित्तीय प्रगति ५४ प्रतिशत मात्र देखिएको छ । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको समग्र वित्तीय प्रगति भने ६५ प्रतिशत रहेको छ । तर डिभिजन वन कार्यालय बाराले भने सबैलाई उछिन्दै ८५.१५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको पाईएको छ । मन्त्रालयअन्तर्गतका १५ वटा खर्च केन्द्रमध्ये दोस्रो स्थान हासिल गरेको डिभिजन वन कार्यालय बाराले मधेश प्रदेशका ८ वटा डिभिजन वन कार्यालयमा प्रथम स्थान हासिल गर्न सफल भएको हो । डिभिजन वन कार्यालय बाराले गरेको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झालाई वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका मन्त्री शंकर प्रसाद चौधरीले सम्मान गर्नुभएको छ भने डिभिजन वन कार्यालय बाराले उक्त उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सम्पूर्ण वन कर्मचारी, साझेदार निकाय तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
डिभिजन वन कार्यालय बाराको यो उपलब्धिलाई हेर्दा कार्यालयले यस आर्थिक वर्षको योजना कार्यान्वयन, बजेट परिचालन तथा वित्तीय व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ । कार्यालयको उत्कृष्ट नतिजाले प्रदेशस्तरमा वन क्षेत्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ । डिभिजनल वन अधिकृत झाले आगामी दिनमा वन संरक्षण, वातावरणीय सन्तुलन तथा विकास निर्माणसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नभएको छ ।


