श्रोत खुल्न नसकेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित बिरगन्जमा एक जनालाई प्रहरिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा, वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् । भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बी आर ०५ बी के ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई वीरगन्ज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरिएको थियो । जाँचका क्रममा मोटरसाइकलको सिटकभर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६ सय बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरि नायब उपरीक्षक मोहनराज निरौलाले जनाएका छन । बरामद रकमको स्रोत तुराहाले स्पष्ट गर्न नसकेपछि सशस्त्र प्रहरीले उनलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
श्रोत नखुलेको रकम सहित वीरगंज भन्सार क्षेत्रबाट एक जना पक्राउ

