नेपाल राष्ट्र बैंकको वीरगंजस्थित कार्यालयले शनिवार हेटौंडामा वित्तीय साक्षरता प्रवर्धन सम्बन्धी एक दिने पत्रकार अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले प्रवाह गर्ने सेवा तथा अन्य आर्थिक गतिबिधिको विषयमा पत्रकारहरुको साक्षरतामा अभिबृद्धी गर्दै उनिहरुले चलाउने कलमको माध्यमबाट अन्य उपभोक्तालाई जानकारी गराउने उद्देश्यले राष्ट्र बैंकको बिरगन्ज कार्यालयले ५ जिल्लाका पत्रकारहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेशको बारा, पर्सा, रौतहट र बाग्मती प्रदेशको चितवन र मकवानपुर गरि पांच जिल्लाका ९० जना पत्रकारहरुको सहभागितामा हेटौंडाको होटल एभोकाडोमा सम्पन्न अनुशिक्षण कार्यक्रममा मुलुकको सामाजिक रुपान्तरणका लागि वित्तिय समावेशिता अपरिहार्य भएको जानकारी गराइएको थियो ।
सामाजिक रुपान्तरणका लागि बैक तथा वित्तिय संस्थामा आम उपभोक्ताको पहुंचमा बिस्तारसङ्गै सेवामा प्रविधिको प्रयोग र त्यसको गुणस्तरमा सुधार हुन अत्यन्त आवश्यक रहेको कुरा अनुशिक्षण दिने क्रममा नेपाल राष्ट्र बैंक बिरगन्जका निर्देशक सुशील पौडेलले बताउनुभयो । पहिलेको तुलनामा अहिले प्रविधिको विकासमा तिब्रता आएको र त्यसले उपभोक्ताहरु खुट्टा खियाएर बैंक जानुको सट्टा इन्टरनेट र मोबाइलको माध्यमबाट घरघरमै बैंक पुगेको बताउंदै उंहाले घरको कुनै कुना वा छतमा बसेर एउटा औंलाको भरमा आर्थिक कारोबार गर्न सकिने अवस्थाको सृजना भएको बताउनुभयो । तर त्यस्ता सेवाहरु प्राप्त गर्न उपभोक्ताहरुमा साक्षरताको कमि भएकोले त्यसको प्रयोगको अवस्था एकातिर कमजोर रहेको र अर्कोतिर सेवामा पनि गुणस्तरको कमि भएकोले त्यसमा सुधारको खांचो रहेको उहांले औंल्याउनुभयो ।
अनुशिक्षणकै क्रममा निर्देशक पौडेलले आर्थिक गतिबिधिमा लगानी गर्नुपर्ने रकम नागरिक तथा सरकार समेतले लगानी गर्न नसक्दा बैंकमा रकम थुप्रिएको र कर्जा उपयोग गर्ने क्षमता अपेक्षित रूपमा बढ्न नसकेको बताउनुभयो । एकातिर देशको अस्थिर राजनितिसंगै आर्थिक नीति स्थिर हुन नसक्दा त्यसले सृजना गरेको अन्योलता अनि अर्कोतिर बैंकिङ सेवा पुगेका क्षेत्रमा समेत वित्तीय ज्ञानको अभावले कर्जाको माग घट्दै गएको अवस्थाकाबिच वित्तीय पहुँचलाई आधारभूत तहसम्म विस्तार गर्न र सुरक्षित वित्तीय कारोवारको वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहने उंहाले बताउनुभयो ।
अनुशिक्षणकै क्रममा नेपाल राष्ट्र बैंक बिरगन्जका सहायक निर्देशक नरेश नरेश सर्राफले अनलाइन बैंकिङ्गको प्रयोगमा देखिने असवधानिले पछिल्लो समय अनलाईन बैंकिङ ठगी र अपराधका घटना बढिरहेको उल्लेख गर्दै वीरगंज कार्यालयमा दैनिक ५४ वटासम्म त्यस्ता बैंकिङ स्क्यामसम्बन्धी उजुरी आउने जानकारी दिंंनुभयो । वित्तिय कारोबारमा आम उपभोक्ताको पहुंच र प्रयोगमा बिस्तार गर्न तथा बैंकिङ्ग स्क्यामबाट जोगाउन पत्रकारहरूले वित्तीय साक्षरताका विषयमा समाचार, लेख तथा विश्लेषणमार्फत जनचेतना फैलाउन उंहाले आग्रह समेत गर्नुभयो । राष्ट्र बैंकका अर्का सहायक निर्देशक विनय केशरीले बैंकिङ कारोवारका प्राविधिक तथा व्यावहारिक पक्षवारे जानकारी दिँदै नक्कली नोटबाट जोगिन सतर्क रहन सुझाव दिनुभयो।
उंहाले मुद्रास्फीति र विनिमय दरलाई ध्यानमा राखेर मात्र खरिद निर्णय गर्न तथा अनलाइन कारोवार गर्दा विश्वसनीय माध्यम प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक रुपान्तरणका लागि वित्तिय समावेशिता र त्यसका आधारहरु, वित्तिय साक्षरता र त्यसको अवस्थासङ्गै अनावश्यक खर्च नियन्त्रण, विभिन्न सेवाको लागत तुलना, बैंक खाताको नियमित निगरानी तथा कुनै पनि कागजातमा हस्ताक्षर गर्नुअघि आवश्यक परामर्श लिनुपर्ने विषयमा अनुशिक्षण दिइएको थियो। साथै, वस्तु तथा सेवा खरिद गर्दा त्यसको उत्पत्ति र वातावरणीय प्रभावसमेत विचार गर्नुपर्ने सुझाव दिइएको छ। अनुशिक्षण कार्यक्रमको सहजिकरण सहायक निर्देशक नरेश सर्राफलेले गर्नुभएको थियो ।

