पूर्व–पश्चिम राजमाग अन्तर्गत बाराको अमलेखगञ्ज सडकखण्डमा निर्माण गरिएका दुई सामुदायिक भवन र एउटा शौचालय समेत गरी ३८ वटा व्यवसायिक घर तथा टहराहरु आज डोजर लगाएर भत्काईएको छ ।
राजमार्गको दायाँ २५ र बाँया २५ मिटर गरी ५० मिटरको सडक सिमासँगै वन र निकुन्जको जग्गा अतिक्रमण गरि उक्त घरटहरा निर्माण गरिएको भन्दै डिभिजन वन कार्यालय बाराको अगुवाईमा सडक डिभिजन कार्यालय हेटौँडा र पर्सा राष्ट्रिय निकुन्जको सँयुक्त टोलीले स्थानिय प्रहरी र प्रशासनको सहयोगमा भत्काएको हो । बर्षौदेखि अतिक्रमण गरि निर्माण गरिएका उक्त घरटहरामध्ये तिन वटा घरहरु सडक सिमाभित्र परेको र सडक पूर्वको खोलामा निर्माण गरिएका दुई सामुदायिक भवन सहित तिन वटा घरहरु निकुन्जको क्षेत्रमा रहेको र बाकि वन क्षेत्रभित्र रहेको लगतको आधारमा तिन वटै निकायको संयुक्त बैठकले भत्काउने निर्णय गरेको र त्यसको पूर्व सुचना स्थानियलाई दिएर मात्र घर भत्काईएको डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउत कुर्मीले जानकारी दिनुभएको छ ।
सडक सिमाभित्र पर्ने घरटहरा खालि गरी भत्काउन बैशाख ७ गते सडक डिभिजन कार्यालयले सुचना जारी गरे लगतै बैशाख ९ गते डिभिजन वन कार्यालयले वन क्षेत्रभित्र पर्ने घरटहरा खाली गर्न सार्वजनिक सुचना जारी गरेको थियो । यसबिच केहीले सडक सिमाभित्रका घर भत्काएपनि वन क्षेत्रभित्रको घर नभत्काएको पाईएपछि डिभिजन वन कार्यालयले बिहिबार माईकिँग गरि सुक्रबार बिहानसम्म खाली गर्न सुचना दिएको थियो । सोही अनुसार शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका भौतिक संरचना भत्काउने कार्य शुरु गरिएको हो ।
डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको यस कार्यका लागि बिहानदेखि नै सो क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी , वन रक्षकसङ्गै वनका कर्मचारी तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएको थियो । शुरुमा अतिक्रमण खाली गर्ने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडपको अवस्था सिर्जना भएको थियो। त्यसपछि डिभिजन वन कार्यालयसँगै सुरक्षाकर्मीहरुले माईकिंग गरि आधा घण्टाभित्र आफ्नो सामान घरबाट निकाल्न सुचना जारी गर्दै अतिक्रमण खाली गराउने कार्य शुरु गरिएको थिाये । केही समय तनावको स्थिति सृजना भएपनि पछि अवस्था सामान्य बन्दै गएपछि खटिएका वनकर्मी र सुरक्षाकर्मी सबैको सहयोगमा घरभित्रको सामान निकालेर सडक डिभिजनबाट आएको दुई वटा डोजरको सहयोगमा त्याँहाका संरचनाहरु भत्काईएको हो ।
अतिक्रमण हटाउन डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले बिहानै बारामा पर्ने सबै युनिटका वन अधिकृत लगायतका वनकर्मीलाई डिभिजन वन कार्यालय बारामा बोलाएर ब्रिफिगं गरी मात्र अतिक्रमित क्षेत्रमा पठाउनुभएको थियो । अतिक्रमणमा परेका सार्वजनिक सरकारी जग्गा खाली गराउने सरकारको नीति र निर्देशनलाई कार्यान्वयन गर्न तथा वन ऐन र नियामलीले दिएको अधिकारको प्रयोग गरि अतिक्रिमति वनको जग्गाको अतिक्रमण हटाई त्यसलाई पूनः वनको रुपमा विकास गर्न आफु लागिपरेको र यस कार्यमा प्रशासन पनि सकरात्मक भएको बताउँदै प्रमुख झाले यस कार्यमा किन्तु परन्तु नभनी लाग्न सबै वनकर्मीलाई निर्देशन दिनुभएको थियो ।
राजमार्गको ३ नम्बर पुल छेउमा अतिक्रमण गरी बस्नेहरूमा अधिकांश मकवानपुरका स्थायी बासिन्दा रहेका थिए, जसले सो क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । डिभिजन सडक कार्यालयले सडक क्षेत्रको दायाँबायाँ २५÷२५ मिटर खाली गराउने पहल गरेसँगै डिभिजन वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वमा रहेको क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका हुन ्।

