बाघ संरक्षणको भविष्य : सहअस्तित्व र समृद्धिको साझा यात्रा (सन्दर्भ : अन्तर्राष्ट्रिय बाघ दिवस २०२६)

बाघ संरक्षणको भविष्य: सहअस्तित्व र समृद्धिको साझा यात्रा


रामचन्द्र खतिवडा
प्रमुख संरक्षण अधिकृत (वार्डेन), पर्सा राष्ट्रिय निकुञ्ज

 

१. बाघ संरक्षण : उपलब्धिबाट नयाँ यात्रातर्फ

हरेक वर्ष जुलाई २९ मा मनाइने अन्तर्राष्ट्रिय बाघ दिवस बाघ संरक्षणका उपलब्धिहरूको समीक्षा, चुनौतीहरूको मूल्याङ्कन र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो। यस वर्षको दिवस नेपालका लागि अझ विशेष छ, किनकि यही अवसरमा राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक हुँदैछ। सार्वजनिक हुने तथ्याङ्कले नेपालमा बाघको संख्या अझ वृद्धि भएको देखाउने प्रबल अपेक्षा गरिएको छ, जसले नेपालले बाघ संरक्षणमा हासिल गरेको निरन्तर सफलतालाई थप पुष्टि गर्ने विश्वास गरिएको छ।

नेपालले विगत डेढ दशकमा सीमित स्रोत र विविध चुनौतीका बीच बाघ संरक्षणमा विश्वसामु अनुकरणीय सफलता हासिल गरेको छ। यो उपलब्धि स्थानीय समुदाय, सुरक्षाकर्मी, अनुसन्धानकर्ता, संरक्षण साझेदार संस्था तथा राज्यको साझा प्रतिबद्धता र सहकार्यको परिणाम हो।

तर अब संरक्षणको प्रश्न कति बाघ छन्?” भन्नेभन्दा बाघ र मानिस कसरी सुरक्षित सहअस्तित्वमा बाँच्न सक्छन्?” भन्नेमा केन्द्रित हुनुपर्छ। संरक्षणको सफलता केवल बाघको संख्या बढ्नुमा होइन, मानव सुरक्षा, समुदायको विश्वास, वैज्ञानिक व्यवस्थापन, स्थानीय सहभागिता तथा संरक्षणबाट सिर्जना हुने समृद्धिमा पनि निर्भर हुन्छ। त्यसैले अबको संरक्षण यात्राले संरक्षण, समुदाय, पर्यटन, स्थानीय अर्थतन्त्र र दिगो विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ।

नेपालले TX2 अन्तर्गत बाघको संख्या वृद्धि गर्ने लक्ष्य सफलतापूर्वक हासिल गरिसकेको छ। अबको यात्रा  धेरै बाघ (More Tigers) बाट  उत्तम सहअस्तित्व (Better Coexistence), स्वस्थ पारिस्थितिकीय परिदृश्य र समृद्ध समुदाय (Healthier Landscapes and Prosperous Communities) तर्फ उन्मुख हुनुपर्छ, जहाँ बाघ, मानिस र प्रकृति सबैको सुरक्षा र समृद्धिलाई समान महत्व दिइन्छ। यस अर्थमा अन्तर्राष्ट्रिय बाघ दिवस २०२६ विगतका सफलताको उत्सव मात्र होइन, सहअस्तित्व, विज्ञानमा आधारित संरक्षण र समृद्धिमुखी व्यवस्थापनतर्फ नेपालको नयाँ प्रतिबद्धताको प्रतीक पनि हो।

२. संरक्षणको नयाँ दर्शन : सहअस्तित्व, समुदाय र साझेदारी

विश्वव्यापी रूपमा संरक्षणको अवधारणा अब केवल वन, वन्यजन्तु वा संकटग्रस्त प्रजातिको संरक्षणमा सीमित छैन। यो सामाजिक, आर्थिक, सांस्कृतिक र विकाससँग प्रत्यक्ष जोडिएको समग्र विषय बनेको छ। नेपालमा बाघको संख्या वृद्धि ऐतिहासिक उपलब्धि भए पनि यससँगै मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको बासस्थान माथिको दबाब, पूर्वाधार विकास र जलवायु परिवर्तन जस्ता चुनौतीहरू पनि बढेका छन्। त्यसैले भविष्यको संरक्षणलाई पुरानै सोचबाट अघि बढाउन सम्भव छैन।

आज संरक्षणको केन्द्रमा सहअस्तित्व (Coexistence) को अवधारणा छ। यसको उद्देश्य मानिस र वन्यजन्तु दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै वैज्ञानिक व्यवस्थापन, जोखिम न्यूनीकरण र समुदायको सहभागिता मार्फत सुरक्षित सहजीवन सुनिश्चित गर्नु हो। सफल संरक्षणका लागि स्थानीय समुदाय, स्थानीय सरकार, अनुसन्धान संस्था, निजी क्षेत्र र संरक्षण साझेदार बीचको साझेदारी अपरिहार्य छ।

संरक्षणलाई सामाजिक व्यवहार परिवर्तनसँग पनि जोड्न आवश्यक छ। वैज्ञानिक जानकारी, संरक्षण शिक्षा र समुदाय–आधारित कार्यक्रममार्फत वन्यजन्तु प्रतिको डर र नकारात्मक सोचलाई सकारात्मक व्यवहारमा रूपान्तरण गर्न सकिए मात्र दीर्घकालीन सफलता सम्भव हुन्छ। साथै One HealthOne Welfare जस्ता दृष्टिकोणले मानव, वन्यजन्तु, पशुधन र वातावरणको पारस्परिक सम्बन्धलाई स्वीकार गर्दै संरक्षणलाई मानव कल्याणसँग जोड्ने आधार प्रदान गर्छन्।

यसैले भविष्यको संरक्षणलाई जैविक विविधता संरक्षणमा मात्र सीमित नराखी मानव सुरक्षा, सामाजिक न्याय, स्थानीय विकास र दिगो समृद्धिसँग जोडिएको राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ। सहअस्तित्व, समुदायको साझेदारी, वैज्ञानिक व्यवस्थापन, सुशासन र दिगो विकासमा आधारित संरक्षण नीति नै आगामी दशकमा नेपालको सफल संरक्षण यात्राको मुख्य आधार बन्न सक्छ।

३. पर्सा राष्ट्रिय निकुन्जको बाघ–मित्र अभियान :-  मानव–बाघ सहअस्तित्व र शून्य मानवीय क्षतितर्फको यात्रा

नेपालमा बाघ संरक्षणको सफलतासँगै मानव–बाघ अन्तरक्रिया पनि बढ्दै गएको छ। बाघको संख्या वृद्धि संरक्षणको उपलब्धि भए पनि संरक्षित क्षेत्र, जैविक मार्ग (Wildlife Corridor) र वनसँग जोडिएका बस्तीहरूमा मानव–बाघ द्वन्द्वको जोखिम बढेको छ। त्यसैले अब संरक्षणको प्राथमिकता बाघ संरक्षणसँगै मानव सुरक्षालाई समान रूपमा सुनिश्चित गर्नु हो।

यही उद्देश्यका साथ पर्सा राष्ट्रिय निकुञ्जको नेतृत्वमा सुरु भएको बाघ–मित्र अभियान” सहअस्तित्वमा आधारित संरक्षणको एक नवीन अभ्यासका रूपमा विकास हुँदै गएको छ। यसको उद्देश्य बाघको संख्या बढाउनु मात्र होइन, समुदायलाई बाघको उपस्थितिमा सुरक्षित रूपमा बाँच्ने ज्ञान, सीप र व्यवहार विकास गराउनु हो। अभियानले विद्यालय, युवा, महिला समूह, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, स्थानीय सरकार, सुरक्षाकर्मी तथा स्वयंसेवकलाई संरक्षणको साझा साझेदारका रूपमा जोड्ने प्रयास गरेको छ।

आधुनिक संरक्षण व्यवस्थापनको मूल आधार Reactive Management भन्दा Proactive Management हो। अर्थात्, द्वन्द्व भएपछि मात्र प्रतिक्रिया दिने होइन, जोखिम पहिचान र पूर्वतयारीमार्फत द्वन्द्व हुनै नदिने प्रणाली विकास गर्नु। यसका लागि जोखिम नक्साङ्कन, क्यामेरा ट्र्यापमार्फत निगरानी, पूर्वसूचना प्रणाली, समुदाय–आधारित निगरानी, द्रुत उद्धार टोली (Rapid Response Team), सुरक्षित आश्रयस्थल (Human Safety Shelter) तथा स्थानीय स्वयंसेवक परिचालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक छ।

यसै सन्दर्भमा शून्य मानवीय क्षति (Zero Human Casualty)” लाई नेपालको मानव–वन्यजन्तु व्यवस्थापनको दीर्घकालीन राष्ट्रिय लक्ष्यका रूपमा अघि बढाउनुपर्छ। यसको आधार वन्यजन्तुप्रति कठोर नीति होइन, वैज्ञानिक जोखिम व्यवस्थापन, समयमै सूचना प्रवाह, प्रभावकारी उद्धार प्रणाली र संस्थागत समन्वयमार्फत मानव जीवनको सुरक्षा सुनिश्चित गर्नु हो। राहत वितरण आवश्यक भए पनि दीर्घकालीन समाधान भनेको जोखिम न्यूनीकरण र सुरक्षित सहअस्तित्वको व्यवस्थापन प्रणाली निर्माण गर्नु हो।

नेपालले बाघको संख्या वृद्धि गरेर विश्वमा उदाहरण प्रस्तुत गरिसकेको छ। अब अर्को लक्ष्य मानिस र बाघ दुवै सुरक्षित हुने सहअस्तित्वमा आधारित संरक्षण प्रणाली विकास गर्नु हो। बाघ–मित्र अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्न सकिए नेपालले मानव–बाघ सहअस्तित्वको सफल मोडेल विश्वसामु प्रस्तुत गर्न सक्नेछ।

४. बाघ संरक्षणको सफलतासंगै पर्यटन र स्थानीय अर्थतन्त्र जोड्न ग्रेटर चितवन अवधारणा

अर्को महत्वपूर्ण बिषय भनेको संरक्षणलाई स्थानीय अर्थतन्त्र र पर्यटनसँग जोड्नु हो। जबसम्म संरक्षणबाट स्थानीय समुदायले प्रत्यक्ष लाभको अनुभूति गर्दैन, तबसम्म संरक्षणप्रतिको अपनत्व र जिम्मेवारी बलियो हुन सक्दैन। त्यसैले संरक्षण, पर्यटन र स्थानीय समृद्धिलाई एउटै विकास अवधारणामा जोड्न आवश्यक छ। यही सोचका आधारमा ग्रेटर चितवन अवधारणा (Greater Chitwan Landscape Concept)” अघि सार्न जरुरी छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनिक रूपमा फरक संरक्षित क्षेत्र भए पनि जैविक दृष्टिले यी एउटै साझा पारिस्थितिक प्रणालीका अभिन्न अङ्ग हुन्। बाघ, हात्ती, गैँडा लगायतका वन्यजन्तुका लागि प्रशासनिक सीमाको कुनै अर्थ हुँदैन। त्यसैले संरक्षणलाई साझा जैविक परिदृश्यको दृष्टिकोणबाट व्यवस्थापन गर्न आबस्यक छ।

यस अवधारणालाई व्यवहारमा उतार्ने एउटा महत्वपूर्ण पहल चितवन–पर्सा राष्ट्रिय निकुन्जको एकीकृत प्रवेश टिकट प्रणाली पनि हो। यदि यी निकुन्जहरुमा हाल कायम रहेको छुट्टा छुट्टै निकुन्ज प्रवेश टिकटको अतिरिक्त दुवै निकुञ्जका लागि संयुक्त टिकटको समेत व्यवस्था गर्न सकियो भने पर्यटकको बसाइ अवधि बढ्नेछ, पर्यटनको लाभ चितवनमा मात्र सीमित नरही पर्सा, बारा, मकवानपुर तथा समग्र मधेश प्रदेशसम्म विस्तार हुनेछ। यसले होमस्टे, होटल, रेष्टुरेन्ट, प्रकृतिमा आधारित उद्यम, हस्तकला तथा स्थानीय उत्पादनलाई नयाँ अवसर सिर्जना गर्नेछ। जब समुदायले संरक्षणबाट प्रत्यक्ष आर्थिक लाभ प्राप्त गर्छ, तब बाघ लगायत वन्यजन्तु संरक्षणप्रतिको उत्तरदायित्व र अपनत्व पनि स्वतः बढ्छ। यसरी ग्रेटर चितवन अवधारणाले संरक्षण, पर्यटन र स्थानीय अर्थतन्त्रलाई एकीकृत गर्दै नेपालको संरक्षण सफलतालाई दिगो समृद्धिसँग जोड्ने नयाँ मार्ग प्रशस्त गर्न सक्छ।

५. मध्यवर्ती क्षेत्र व्यवस्थापन र बाघ संरक्षण

नेपालको बाघ संरक्षण सफलताको दीर्घकालीन आधार सुदृढ सुशासन, प्रभावकारी मध्यवर्ती क्षेत्र व्यवस्थापन र विज्ञानमा आधारित निर्णय प्रणाली हो। मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणाली संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि यसमा देखिएका चुनौती अवधारणाका होइनन्, कार्यान्वयन, सुशासन र समन्वयका हुन्। त्यसैले यसलाई हटाउने होइन, स्थानीय नेतृत्व, पारदर्शिता र जवाफदेहिता सहित अझ प्रभावकारी बनाउनु आवश्यक छ।

यसका लागि कानुनी रूपमा मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्” गठन गरी स्थानीय तह, राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन, पर्यटन क्षेत्र तथा अन्य सरोकारवालाबीच समन्वित निर्णय प्रणाली विकास गर्नुपर्छ। यस्तो संयन्त्रले बाघ संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोतको दिगो उपयोग तथा संरक्षणबाट प्राप्त लाभको न्यायोचित वितरणलाई थप प्रभावकारी बनाउन सहयोग गर्नेछ।

६. निष्कर्ष :

अन्तर्राष्ट्रिय बाघ दिवस २०२६ ले नेपाललाई अर्को महत्वपूर्ण अवसर दिएको छ। बाघ संरक्षणमा प्राप्त सफलतालाई अब गुणात्मक रूपमा अगाडि बढाउँदै संरक्षणलाई सुशासन, वैज्ञानिक निर्णय प्रणाली र संस्थागत सुधारसँग जोड्नुपर्छ। नेपालले संरक्षणमा विश्वसामु उदाहरण प्रस्तुत गरिसकेको छ। अबको चुनौती त्यस उपलब्धिलाई दिगो, उत्तरदायी र भविष्य–मुखी व्यवस्थापन प्रणालीमार्फत संस्थागत गर्नु हो। यही मार्गले नेपाललाई जैविक विविधता संरक्षणमा अन्तर्राष्ट्रिय स्तरमा अझ विश्वसनीय र नेतृत्वदायी राष्ट्रका रूपमा स्थापित गर्न सक्छ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप