जितपुर सिमरास्थित जगदम्बा स्टिल्स मजदुर युनियनको ११ औँ अधिवेशनले यस पटक पनि दीपक बि.क. को अध्यक्षता तथा दिपक कार्की सचिवसहितको सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित पर्यटकीय स्थल देवाश्रममा शनिबार सम्पन्न ११ अधिबेशनले दिपक बि.क. को अध्यक्षतामा ११ सस्यिय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रत्येक दुई-दुई वर्षमा हुने अधिवेशनको आधारमा हेर्दा, विगत २२ वर्षदेखि यस युनियनमा कुनै पनि पदका लागि निर्वाचन (मतदान) गर्नुपरेको छैन। स्थापनाकालदेखि नै निरन्तर ११ औँ पटकसम्म सिंगो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन हुनु नेपालको औद्योगिक तथा श्रम इतिहासमै सम्भवतः पहिलो र दुर्लभ घटना भएको जगदम्बा स्टिलमा कार्यरत मजदुरहरुले बताएका छन ।
पछिल्लो समय नेपालका धेरैजसो औद्योगिक प्रतिष्ठानहरूमा मजदुर युनियन र व्यवस्थापनबीचको तालमेल नमिल्दा वा आन्तरिक खिचातानीका कारण युनियनहरू धराशायी र प्रभावहीन बन्दै गएको अवस्था छ। कतिपय उद्योगहरूमा युनियन नै विस्थापित हुने स्थिति समेत सिर्जना भइरहेका बेला मुलुककै ठूलो औद्योगिक प्रतिष्ठान जगदम्बा स्टिल्सको मजदुर युनियनले भने श्रम क्षेत्रमा एउटा फरक र अनुकरणीय इतिहास कायम गरेको छ।
सनिबार सम्पन्न ११ औं अधिवेशन जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमरिया, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, अखिल नेपाल औद्योगिक महासंघ बाराका अध्यक्ष डि.बी. थापा र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ (डि.बी.) को विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा डाबर नेपाल प्रालि तथा हुलास स्टिल्स लिमिटेडका मजदुर युनियनका प्रमुख एवं प्रतिनिधिहरूलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलका साथै विशिष्ट अतिथिहरूले पछिल्लो समय ट्रेड युनियनहरूलाई अझ बढी व्यवस्थित, अनुशासित र मर्यादित बनाएर लैजानुपर्नेमा जोड दिनुभयो। उहाँहरूले उद्योग र श्रमजीवी वर्ग एकापसमा परिपूरक भएको बताउँदै मजदुरहरूका अधिकतम हक-अधिकार र सुरक्षाका मुद्दाहरूलाई स्थापित गर्न युनियनहरू जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष दीपक बि.क. र सचिव दीपक कार्कीले मजदुरहरूको हकहित, सुरक्षा र संस्थाको समृद्धि नै आफूहरूको पहिलो प्राथमिकता रहेको र यही विश्वासका कारण लगातार ११ औँ पटकसम्म सर्वसम्मत नेतृत्व सम्भव भएको बताउनुभयो ।


