ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले आज सुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा नौ जना महिलासहित कुल एक सय १४ जनाले रक्तदान गरेका छ्न ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदीको सभापतित्व तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । ब्रह्माकुमारी राजयोगिनी दादी प्रकाशमणिजीको १८ औ पुण्य स्मृति दिवसको अवसरमा आयोजित बृहद रक्तदान कार्यक्रममा ९ जना महिला तथा १ सय ५ जना पुरुष गरी कुल १ सय १४ जनाले रक्तदान गरेका हुन । दुई चरणमा आयोजित रक्तदान कार्यक्रमको पहिलो चरणमा सहभागी अतिथिहरुले कार्यक्रमबारे प्रकाश पार्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे भने दोश्रो चरणमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा सभापति ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदी,प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, राजस्व अनुसन्धान कार्यालय पथलैयाका कार्यालय प्रमुख हरिप्रसाद शर्मा, उपमहानगरपालिकाका कार्यालय प्रमुख शान्तिराज प्रसाई , जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन लामिछाने तथा विभिन्न संघ संस्थाका प्रमुख उपस्थित रहेको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले पहिलो पटक राखेको बृहद रक्तदान कार्यक्रमको खुलेर सराहना गर्दै कार्यक्रमका प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारीले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्दै रगतको अभावमा अकाल मृत्यु हुने सम्भावनालाई कम गर्नमा रक्तदान कार्यक्रमले ठुलो भुमिका निर्वाह गर्ने धारणा राख्नुभयो । ब्रह्माकुमारीले गरेको यस्तो किसिमको कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने कुरा पनि बताउनुभयो । सभापति ब्रह्माकुमारी मधु दिदीले सबैको साथ सहयोगले यो कार्यक्रम सफल भएको बताउँदै रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता तथा सहयोगीहरुलाई धन्यवाद दिनुभयो । विश्व बन्धुत्व दिवसको अवसरमा राखिएको रक्तदान महाअभियान २०२५ ले सम्पूर्ण मानव जीवनको रक्षा गर्ने र सबै मानवको जीवनमा नयाँ जीवन प्रदान गर्नेछ भन्ने आफ्नो आशिष वचन समेत व्यक्त गर्नुभयो । रक्तदान कार्यक्रम सिमरा रेडक्रसको सहयोगमा सम्पन्न भएको हो । रक्तदान आयोजना गरेकोमा रेडक्रस सिमरा शाखाका अध्यक्ष शिव शर्माद्वारा सिमरा सेवा केन्द्रलाई प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम सफल भएकोमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रलाई धन्यवाद तथा बधाई दिनुभयो ।