बंगरी नदिमा मिसाइएको औद्योगिक फोहोर पानी रोक्न र प्रदुषित पानी नदिमा मिसाउनेलाई कानुनी कारबाही गर्न बाराका युवाहरुले सिडिओलाई ज्ञापन पत्र बुझाएका छन ।
बारा जिल्लाको फेटा गाँउपालिकाको अकवनिया, भलुही र प्रसौनी गाँउपालिकाका गोइठहीसङ्गै कलैया उपमहानगरपालिकाका मनगढवाका Gen-Z युवाहरुको एक समुहले आज जिल्ला प्रशासन कार्यालय बारामा पुगेर प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापनपत्र मार्फत युवाहरुले नदिमा मिसाइएको उधोगजन्य प्रदुषित पानी रोक्न तथा नदिमा फोहोर पानी मिसाउने उधोगलाई कार्वाही गर्न माग गरेका छन ।
बारामा रहेको रिलायन्स सुगर इन्डस्ट्रिज, श्रीपुरबाट निस्किएको फोहोर पानीको उपचार नगरी सीधै बंगरी नदिमा मिसाउंदा नदिमा बग्ने फोहर र दुर्गन्धित पानीले खोला वरिपरिको गाउँको वातावरण दुर्गन्धित बनेको तथा छालाको समस्या, एलर्जी, पेटसम्बन्धी समस्या जस्ता असरहरू देखिएको गुनासो गर्दै युवाहरुले प्रदुषित पानी खोलामा मिसाउन नरोके आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । खोलामा उधोगको रसायनयुक्त प्रदुषित पानी मिसाउंदा खोला वरिपरि रहेका ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायत करिब ५० भन्दा बढी गाउँरटोल प्रत्यक्ष प्रभावित भएको उनिहरुले पेश गरेको ज्ञापनपत्रमा उल्लेख छ । निकट भविष्यमा हुने शुभ दिपावली र विशेष गरी छठ पर्वमा नदि किनारमा अर्घ दिने धार्मिक पूजापाठ प्रत्यक्ष प्रभावित हुने देखिएकोले सार्वजनिक स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर विषय भएकोले त्यसतर्फ आवश्यक कदम चाल्न युवाहरुले माग गरेका छन ।