देशकै मुख्य भन्सार वीरगन्ज भन्सारमा शनिबारदेखि अनलाइन मूल्यांकन प्रणाली लागू भएको छ ।
विराटनगर भन्सार कार्यालयमा एक महिनाअघि परीक्षणको रुपमा लागू गरेको अनलाइन मुल्यांकन प्रणाली शनिबारदेखी बिरगन्ज भन्सार कार्यालयमा कार्यान्वयनमा आएको हो ।
अर्थमन्त्री रामेश्वर खनालले शनिबार भर्चुअल कार्यक्रमकाबीच वीरगञ्ज भन्सारमा अनलाइन मूल्यांकन प्रणालीको उद्घाटन गरेका हुन् । खराब मौसमका कारण उडान अवरुद्ध भएपछि आयोजना गरिएको भर्चुअल कार्यक्रममा भन्सार प्रशासनका कर्मचारी, उद्यमी, व्यवसायीलगायतको सहभागितामा अर्थमन्त्री खनालले मूल्यांकन अनलाइन प्रणाली उद्घाटन गरेका छन । अनलाइन मुल्यांकन प्रणाली लागु भएसङ्गै यसअघिको सन्दर्भ मूल्य प्रणाली प्रतिस्थापित भएको छ ।व्यापार सहजिकरण तथा भन्सार सुधार अभियान अन्तर्गत अर्थमन्त्री रामेश्वर खनालको सकृयतामा अनलाइन मुल्यांकन प्रणालिको शुरुवात गरिएको हो ।
गत असोज ८ गते विराटनगर भन्सारमा लागू भएको यो प्रणाली क्रमशः सबै भन्सारमा लागू गर्ने अर्थ मन्त्रालयको योजना रहेको छ ।अनलाइनबाट मूल्यांकन गर्ने प्रणालीले यसअघिको सन्दर्भ मूल्य प्रणाली प्रतिस्थापित गरेको खनालले बताएका छन । व्यवसायीले पेश गरेका बीलबिजकका आधारमा प्रणालीले नै मूल्यांकन गर्ने कुरा मन्त्री खनालले बताए । अनलाइन मूल्यांकन प्रणाली विश्वसनीय र व्यापार लक्षित भएको उनले बताए । अर्थतन्त्रको अभिवृद्धि र त्यसका लागि लगानी बढाउन भन्सार प्रणाली सुधारको मुख्य उद्देश्य भएको उनको भनाइ थियो । उद्योग र व्यापारको सहजीकरण, सुरक्षा र लगानीको वातावरण बनाउन सरकार निजीक्षेत्रसँग सहकार्यका लागि सधैं अग्रसर रहेको र सरकारले व्यापारको लागत घटाउने वातावरण बनाइरहेको दावी उनले गरे । व्यवसायीले पेश गरेको आधिकारिक बिललाई अनलाइन मूल्यांकन प्रणालीले ९० दिनको डाटाबेसको आधारमा विश्लेषण गरी मूल्यांकन गर्ने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए । आयातकर्ताले घोषणा गरेको विवरणको विश्लेषण अनलाइन प्रणालीबाट हुने र आयातकर्ताले घोषणा गरेको मूल्य फरक परेमा उच्च र मध्यम जोखिमका आधारमा मालसामानको मूल्य थपिने र कम मूल्य घोषणा भएमा थपिएको मूल्यांकनमा ५० प्रतिशत जरीवानासमेत लाग्ने भन्सारका अधिकारीहरूले बताएका छन् ।

