तराईमा दाजुभाई तथा दिदिबहिनीबीचको प्रेमको प्रतीकको रुपमा मानाइने सामाचखेवा पर्वको आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचखेवा पर्वको आज ११ औँ दिनमा पर्वको समापन हुन लागेको हो । तराईमा यो पर्व कात्तिक शुक्ल पञ्चमी अर्थात छठ पर्वको खर्नाको रातिदेखि सुरु हुन्छ र यो कार्तिक शुक्ल पूर्णिमाको राति समापन गरिने परम्परा रहिआएको छ ।
द्वापरयुगका श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रवातको अमर प्रेमको सम्झनामा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । सामा र चक्रवातको प्रेमको बिषयमा चुगला भन्ने पात्रले कृष्णलाई कुरा लगाएपछी छोरी सामाको चक्रवातसङ्गको प्रेमप्रती असहमती जनाउंदै श्रीकृष्णले उनिहरुलाई चरा योनीमा जाने श्राप दिएको कथामा उल्लेझ छ । पिताका श्रापले चरा योनीमा पुगेका सामा र चकेवालाई श्रापमुक्त गराउन सामाका दाजु साम्बले शिवको कठोर तपस्या गरेर सामा र चकेवालाई श्रापमुक्त गराएको खुशियालिमा तराईमा दिदिबहिनीहरुले यो पर्व मनाउंछन ।
सामाका दाजु साम्बले शिवबाट पाएको वरदानले सामा र चकेवा श्रापमुक्त गराई पूर्व योनीमा फर्काएर दुबैको बिवाह गराएको उपलक्ष्यमा सामाचखेवा पर्व मनाउन थालिएको यसका जानकारहरु बताउँछन् । बहिनी सामाप्रति साम्बले देखाएको उदारता र स्नेहको कदर गर्दै दिदीबहिनीले साम्बजस्तै समर्पित दाजुभाइ पाउने विश्वासमा राती सामाचखेवाको गीत गाउंदै १० दिनसम्म यो पर्व मनाउंछन । चुगलाको कारण सामाचखेवाले दुख पाएको रिस पोख्दै दिदिबहिनीहरु चुगलाको जुङ्गा उखेल्ने र जलाउने काम गर्छन । यसका लागि दिदिबहिनीहरु पर्वको कथासङ्ग जोडिएको सामा, चकेवा, चुगला, वृन्दावन सहितका माटोको आकृति बनाई हरेक राति चौबाटो र सार्वजनिक स्थलमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य बखान गर्दै सामूहिक रुपमा सामा चकेवा खेल्ने गर्छन । कात्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, वृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि दिदीबहिनीले जोतेको खेत वा खोलामा ती टुक्रा विसर्जन गरेपछि यो पर्वको समापन हुन्छ । खासगरी तराईका थारु समुदाय र मिथिलामा यो पर्व बडो धुमधामका साथ मनाइने गरिन्छ ।
तराईमा धुमधामका साथ मनाइने सामाचखेवा पर्वको आज समापन

