कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा हजारौं श्रद्धालुले स्नान गरेका छन ।
कार्तिक स्नानको रुपमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मेला लाग्ने कमला नदिमा आज नेपाल तथा भारतका हजारौं श्रद्धालु भक्तजनहरुले पवित्र स्नान गरेका हुन । स्नानको क्रममा आज बिहानदेखी नै कमला नदिको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका विभिन्न घाटमा भारत तथा नेपालका विभिन्न जिल्लाका श्रद्धालुहरुको निकै भिड लागेको थियो । कमला स्नान गर्न टाढाबाट आएका अधिकांश श्रद्धालुहरू हिजो साँझदेखि नै नदी तटमा आएर बास बसेका थिए ।
कात्तिक पूर्णिमाका दिन कमला नदिमा स्नान गर्दा आत्मशुद्धी हुने र सुख शान्ती प्राप्त हुने जनविश्वास छ । कमलामा स्नान गरेर घर फर्किने बेलामा अधिकांश श्रद्धालुहरु गंगाजलको रुपमा कमला नदीको पवित्र जल घर लैजाने गर्छन् । आजका दिन कमलामा धामी-झाँक्रीहरुले भूत र कुल देवताको पूजा गर्ने परम्परा पनि रहेकोले कमलामा लाग्ने यश दिनको मेलालाई भूत मेला पनि भनिन्छ ।

