Advertisement
भिडियो

खानेपानी तथा सरसफाइ डिभिजन बाराका निमित्त प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका निमित्त डिभिजन प्रमुखसमेत गरि चार जना उपर विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि आरोपपत्र दायर गरेको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं. ४ कलैया बाराका निमित्त डिभिजन प्रमुखसमेतले बोलपत्रको सूचना नै प्रकाशन नगरी मिलेमतोमा ठेक्का लगाई अनियमितता गरेको भन्ने व्यहोराको प्राप्त उजुरी सम्बन्धमा अनुसन्धान गरेपछि आरोपपत्र दायर गरेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराबाट आ.व. २०७९/०८० को स्वीकृत बजेट अनुसार बारा जिल्लामा बिभिन्न निर्माण कार्यको लागि २३ वटा बोलपत्रको सूचना जारी गर्नुपर्ने थियो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त सुचना प्रकाशन नै नगरी ठेक्का लगाएको अखियारद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ । अख्तियारका अनुसार डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.का प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेल उपर आरोपपत्र दायर गरिएको हो। उनीहरुको आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ लिएर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई हानि पु-याउने बदनियतले उक्त बोलपत्र आह्वानको सूचना लुकाई छिपाई गरेको कुरा आरोपपत्रमा दाबी गरिएको छ । सो पत्रिका सार्वजनिक रूपमा प्रकाशन नगरी नगराई ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी प्रभाव दैनिक पत्रिकाको एक प्रति मात्र प्रकाशित गरेको उल्लेख गरिएको छ।

गत २०७९/११/२१ गतेको बोलपत्र आह्वानको सूचना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं. ४ कलैया, बारामा पेश गरी गराई सूचना विवरण लुकाउने दुषित मनसाय साथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको प्रभाव दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रतिसमेत साथै राखी झुट्टा बिल भरपाई लगायतका कागजातहरुको आधारमा रु.तीन लाख सोह्र हजार पाँच सय सत्तरी रुपैयाँ (अग्रीम कर बाहेक) सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.लाई भुक्तानी भएको खुलेको छ।

सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.को बैंक खाताबाट रु.पचास हजार रुपैयाँ प्रभाव दैनिक प्रा.लि.का बजार प्रबन्धक सन्तोषराज खरेल समेतले भुक्तानी लिएको समेत देखिएको पाइएको छ। प्रेस काउन्सिल नेपाल तथा प्रभाव पब्लिकेसन प्रा.लि.को प्राप्त पत्रबाट प्रभाव दैनिक पत्रिकाको मिति २०७९ फागुन २१ गते आईतबारको सक्कल प्रतिको कुनै पनि पृष्ठमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं. ४ कलैया, बाराको २३ वटा ठेक्काको बोलपत्रको सूचना प्रकाशित भएको नदेखिएको भनी उल्लेख रहेको छ।

उनिहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूर भएकोले निज प्रतिवादीहरुमध्ये डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दासलाई  तीन लाख सोह्र हजार पाँच सय सत्तरी रुपैयाँ (अग्रीम कर बाहेक) बिगो कायम गरि सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असूल उपर हुन मागदाबी गरिएको छ।

सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि. तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देललाई भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर गरेको आरोपमा तीन लाख १६ हजार पांच सय ७० रुपैयाँको बिगो मागदाबी गरिएको विशेष अदालतमा जाहेर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ।

मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय गरी विगो रु. तीन लाख १६ हजार पाँच सय ७० रुपैयाँ असूल उपर हुनसमेत मागदाबी लिइएको छ।

प्रभाव पब्लिकेशन प्रा.लि.को बजार प्रबन्धक सन्तोषराज खरेललाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर गरेको भन्दै  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम मुख्य कसुरदारहारुलाई हुने सजायको आधारमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय गर्न माग गरिएको छ । निजसङ्ग तीन लाख १६ हजार पाँच सय ७९ रुपैयाँ असूल उपर हुने मागदाबी आरोपपत्रमा गरिएको छ ।

 

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement - Advertisement Advertisement

ताजा खबरः

Advertisement Advertisement

सम्बन्धि थप