पर्सा जिल्ला वीरगंज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ ।
सप्तरी जिल्ला दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसियामाथि अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरिले जनाएको छ । बिदामा घर आएका चौरसियामाथि आइतबार अपरान्ह केही युवकको समूहले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिनुभएको छ । प्रारम्भिक जानकारीअनुसार आक्रमणकारीहरूले भारी वस्तु प्रयोग गरी चौरसियामाथि निर्घात कुटपिट गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न चार जना आरोपीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिसकेको जनाएको छ । तर पक्राउ परेकामाथि हाल सूक्ष्म अनुसन्धान जारी रहेकोले थप विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन ।